इटहरी । नेपालका सोयाबिन तथा सनफ्लावर तेल उद्योगमा भारतको वाणिज्य विभागले अनुगमन गरेको छ । नेपालबाट सोयाबिन तथा सनफ्लावर तेल निकासी गर्दै आएका उद्योगले भारतीय ब्रान्डकै नाममा प्याकेजिङ गरेको आशङ्कामा विभागको टोलीले बुधबार निरीक्षण गरेको हो । सुनसरी–मोरङ कोरिडोरका पशुपती खाद्य आयल, क्वालिटी आयल, मारुती र बाबा ओयल इन्डस्ट्रिजको निरीक्षणपछि टोली फर्केको छ । भारतीय टोली नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वयमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत वस्तु उत्पत्तिको प्रमाणपत्र प्रमाणीकरण प्रयोजनका लागि आएको हो ।
यसअघि नेपालबाट भारत निकासी हुने प्लाइउडमा विषयमा यस्तै सूचना पाएको भन्दै भारतीय अधिकारीले अनुगमन गरेका थिए । तत्पश्चात् भारतले नेपालका प्लाई उद्योगलाई बिआइएस (ब्युरो अफ इन्डियन स्टान्डर्ड) मान्यता लिन अनिवार्य गरेको थियो । नेपालका केही उद्योगले बिआइएस लिएर उत्पादन निकासी गरिरहेका थिए । साउनको दोस्रो साता नेपालका केही उद्योगले मेड इन इन्डिया लेखेर प्लाई निर्यात गरेको आशङ्का गर्दै पानीट्याङ्की र जोगबनी नाकामा मालवस्तु बोकेका ट्रक रोकिएका थिए । रोकिएमध्ये आठ वटा ट्रकलाई भारतको डाइरोक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डिआरआई) ले बुधबार जफत गरेको छ । जफत गरिएका ट्रकमा मेड इन इन्डिया लेखिएका र बिआइएस नपाएका उद्योगका उत्पादन भेटिएको जनाइएको छ ।
विराटनगरका उद्योगीले भने नेपालमा प्लाई उद्योगको उत्पादन र निकासी बढेपछि भारतमा गलत हल्ला फैलाइएको बताउँदै आएका छन् । यस्तै अफवाह अहिले तेल उद्योगबारे फैलाइएको हुन सक्ने आशङ्का नेपाली उद्योगीको छ । २०७७ सालमा पाम आयल निर्यातको ग्राफ बढ्दै जाँदा भारतले नेपालबाट आयात गर्ने भारतीय उद्योगीको लाइसेन्स नै निलम्बन गरेको थियो । जसका कारण करिब डेढ वर्ष पाम आयल निर्यात अवरुद्ध भएको थियो । काबराका अनुसार ती उद्योगले भारतमा सोयाबिन तथा सनफ्लावर तेल निर्यात गर्दै आएका छन् । उद्योगी काबराका अनुसार उनीहरूको सर्टिफिकेट अफ ओरिजिन र साफ्टाको मापदण्ड अनुसार तेल उत्पादन भए नभएको विषयमा विशेष ध्यान दिएका थिए ।
बाबा ओयल इन्डस्ट्रिजका सञ्चालक तथा नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष प्रकाश मुन्दडाले भारतको टोलीले स्थलगत निरीक्षणपछि सन्तुष्ट व्यक्त गरेको बताउनुभयो । यहाँका उद्योगबाट निर्यात भइरहेको तेल भारतमा खपत बढिरहेको बेला उनीहरूले चासो राख्नु सामान्य रहेको मुन्दडाको भनाइ छ । उद्योग सङ्गठन मोरङका अध्यक्ष तथा बागमती आयल इन्डस्ट्रिजका सञ्चालक नन्दकिशोर राठीले भने यसलाई शुभ सङ्केत नभएको टिप्पणी गर्नुभयो । टोली प्रत्येक उद्योगको ल्याब, प्रसोसेसिङ, उद्योगपरिसरको उनीहरूले अवलोकन गरेका थिए । नमुना सङ्कलन भने नगरी फर्केको बताइएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१र८२ मा एक खर्ब छ अर्ब ७९ करोड १२ लाख ३९ हजार रुपियाँको सोयाबिन तेल निर्यात भएको छ ।
जबकी आव २०८०र८१ म ९० करोड २५ लाख एक हजार रुपियाँको मात्रै निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवको सोयाबिन निर्यात एक खर्ब पाँच अर्बले बढी थियो । यसै गरी आव २०८१र८२ मा १२ अर्ब ३२ करोड ६५ लाख ४४ हजारको सूर्यमुखी तेल निर्यात भएको छ । जबकी अघिल्लो आव २०८०र८१ मा १६ करोड ३५ लाख ७५ हजार रुपियाँको मात्रै निर्यात रहेको थियो । निर्यातमा उल्लेख्य वृद्धि भएपछि भारतमा भने विभिन्न हल्ला बढ्नुले नेपालका उद्योगीलाई चिन्ता बढाएको छ । यसअगाडि पाम आयल निर्यातको ग्राफ बढ्दै जाँदा भारतले भन्सारदरलगायत वृद्धि गरेर झन्झट थपिदिएको थियो ।
नेपालबाट आव २०८१र८२ मा नेपालका ३० उद्योगमार्पmत सात अर्ब १० करोड रुपियाँको प्लाइउड निर्यात भएको थियो । गत जेठदेखि भारतले बिआइएस अनिवार्य गरेपछि अहिले आठ वटा उद्योगको उत्पादन मात्रै निर्यात हुन्छ । त्यसमा पनि मेची भन्सार नाकाबाट हुने निकासी तीन सातायता रोकिएको छ ।


