इटहरी । पाथीभरा क्षेत्र विकास समितिको बेरुजु झण्डै साढे ३६ लाख रुपियाँ देखिएको छ । पछिल्लो एक दशकको अवधिमा समितिको फर्स्योट हुन बाँकी रहेको बेरुजु ३६ लाख ३९ हजार २९८ रुपियाँ देखिएको हो । समितिले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा आर्थिक वर्ष २०७१(०७२ देखि आर्थिक वर्ष २०८०(०८१ सम्ममा उक्त रकम बराबरको बेरुजु फर्स्योट हुन बाँकी रहेको उल्लेख गरिएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार महालेखा परीक्षकले औँल्याएको बेरुजुमध्ये केही रकम फर्स्योट भएका छन् ।
हाङबाङ कार्यकारी निर्देशकको जिम्मेवारी नियुक्त हुनु भएपछि ४६ हजार रुपियाँको बेरुजु रकम फर्स्योट भएको समितिले जनाएको छ । त्यस्तै कार्यकारी निर्देशक हाङबाङको कार्यकालमा महालेखा परीक्षकले आर्थिक वर्ष ०८०(०८१ मा १८ हजार ६ सय ३ रुपियाँ बेरुजु औँल्याएको छ । गत आर्थिक वर्ष २०८१(०८२ को मलेपले परीक्षण गर्न बाँकी छ । यस्तै सबैभन्दा बढी आर्थिक वर्ष २०७५(०७६ मा रहेको बेरुजु २६ लाख ३१ हजार ६५८ रुपियाँ फर्स्योट हुन बाँकी छ । यस्तै आव ०७१(०७२ मा ८० हजार ८४५ रुपियाँ, ०७२(०७३ मा १ लाख १२ हजार ३२२ रुपियाँ र आव ०७४(०७५ मा ४२ हजार ९ सय रुपियाँ बेरुजु फर्स्योट हुन बाँकी छ ।
आव ०७६(०७७ मा ६ लाख २४० रुपियाँ र ०७७(०७८ मा १ लाख ७५ हजार रुपियाँ फर्स्योट हुन बाँकी रहेको समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।


