इटहरी । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पु¥याएको छ । दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पलालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिक आउने गरेका छन् ।  अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक संघीय राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको हो । उक्त सेवा सञ्चालनमा आएपछि निजी अस्पतालमा गएर खर्च धान्न नसक्ने न्यून आयभएका दम्पतीले राहत महसुस गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डा रुणा झा बताउनुभयो । अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा अञ्जुदेव र स्त्रीरोग विशेषज्ञ डा मधुमिता राणाले उक्त क्लिनिक सञ्चालन हँुदै आएको क्लिनिकमा सेवा प्रदान गरिरहनुभएको छ ।

परामर्श, प्रारम्भिक परीक्षणदेखि लिएर आवश्यक भएमा आययूआईसम्मको सेवा विभागमार्फत दिइने गरिएको छ । निजी अस्पतालको खर्च धान्न नसक्ने धेरै दम्पती यहाँ सुलभ शुल्कमा परीक्षण, परामर्श र उपचार सरकारी अस्पतालमै सञ्चालन भएपछि धेरैलाई आशा पलाएको प्रमुख डा अञ्जुदेव बताउनुहुन्छ । अस्पतालले सुरु गरेको निःसन्तान उपचार सेवा स्वास्थ्य बिमितका लागि राहतदायी बन्ने भएको छ । अस्पतालका अनुसार बिमामा आबद्ध सेवाग्राहीले बिमा कार्ड प्रयोग गरी आवश्यक जाँच र उपचार सेवामध्ये अधिकांश सुविधा कम खर्चमा लिन सक्नेछन् । प्रमुख डा अञ्जुदेवका अनुसार निःसन्तानको समस्यामा परेका दम्पतीका लागि यो सेवा ठूलो राहतका रूपमा आउनेछ । उपचारको बारेमा आम जनतालाई अझ जानकारी दिनुपर्ने आवश्यकता औंँल्याउँदै, बिमाको पहुँच बढे उपचार सेवामा सहजता आउने विश्वास रहेकोसमेत बताउनुभयो । यसबाट विशेषगरी आर्थिक कारणले उपचारबाट वञ्चित हुँदै आएका परिवारलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

नेपालमा निःसन्तानपन स्वास्थ्य समस्याका रूपमा देखा पर्न थालेको चिकित्सकहरूले बताएका छन । महिलामा प्रजनन अङ्गसँग सम्बन्धित रोग, मासिक धर्मको अनियमितता, हर्मोनल असन्तुलन, अण्डा उत्पादनमा कमी वा अण्डाशयसम्बन्धी समस्या प्रमुख कारण मानिन्छ । त्यस्तै, पुरुषमा शुक्राणुको उत्पादन, गति वा गुणस्तरमा कमी हुँदा पनि सन्तान सुख टाढा हुने गरेको छ । स्वास्थ्य सङ्गठनका तथ्याङ्कअनुसार, निःसन्तानपनले विश्वभर करिब १५ प्रतिशत दम्पतीलाई असर गर्छ । नेपालमा पनि करिब १० देखि १५ प्रतिशत दम्पती यस समस्याबाट प्रभावित हुने गरेको अनुमान छ । कोशी अस्पतालले सञ्चालन गरेको यो क्लिनिक उपचार मात्रै होइन, प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउने र मानसिक–भावनात्मक सहयोग पु¥याउने उद्देश्यसहित अघि बढाइएको छ । निःसन्तानपन केवल स्वास्थ्य समस्या मात्र नभइ सामाजिक दबाब र मानसिक तनावसँग पनि जोडिएको हुन्छ । यस्ता अवस्थामा परामर्श, जानकारी र उपचार एकैसाथ उपलब्ध हुँदा दम्पतीले ठूलो राहत पाउने अस्पतालले जनाएको छ ।