इटहरी । राष्ट्रिय अविस्कार केन्द्रका संस्थापक वैज्ञानिक डा। महाबीर पुन अहिले इलामका विभिन्न क्षेत्रमा किताव बेच्ने दौरानमा हुनुहुन्छ । मेची महाकाली अभियानअन्तर्गत ४३औं जिल्लाका रुपमा इलाममा किताब बेच्न आइपुग्नु भएका डा। पुनले इलामका पाँचवटा पालिकामा किताब बेची सक्नु भएको हो ।वीरगन्जको कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नै आत्मकथा समेटिएको किताब र केहि सयगोगी लिएर डा। पुन इलामको माई नगरपालिकाबाट किताब बेच्दै इलाम प्रवेश गर्नुभएको एक साता भयो । उहाँले माई नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिकामा किताब बेचेर इलाम नगरपालिकामा शुक्रबार साझदेखि किताब बेच्दै हुनुहुन्छ ।
डा। पुनको अभियानलाई साथ दिन स्थानीय सरकार र स्थानीयवासी मन खोलेरै लागेको पाइएको छ । इलामका स्थानीय पालिकाले डा। पुनको किताब खरिद गरीरहेका छन् । इलामको सूर्योदय नगरपालिकामा डा। पुन संग साक्षात्कार कार्यक्रम गरीएको छ । उक्त अवसरमा उहाँले आफु बाध्य भएर किताब बेच्न हिँडेको जानकारी दिनुभयो । सूर्योदयका नगर प्रमुख रणबहादुर राईले राष्ट्रलाई आवश्यक पर्ने कारखाना र उपकरण बनाउने प्रण बोकेर हिँड्नु भएका डा। पुनलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले डा। पुनलाई इलामको चिया, छुर्पी र स्कुस जस्ता बस्तुको उत्पादन र बजारीकरणका लागि आवश्यक पर्ने उपकरण सरल तरिकाले बनाउन आग्रह गर्नुभयो । इलामकै रोङ गाउँपालिकामा डा। पुनलाई स्वागत गर्दै उहाँसँग साक्षात्कार कार्यक्रम गरियो ।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले गाउँपालिकाले कृषि क्षेत्रमा गरीरहेका काम र नयाँ अभ्यासबारे जानकारी गराउनुभयो । उहाँले गुन्द्रुक, करेला, सिस्नो बेसार जस्ता खाद्य बस्तु ब्राण्डिङ गरी बजारीकरण गरीरहदा औजार, उपकरणका समस्या रहेकाले किसानले सरल मूल्यमा सहज तरिकाले सञ्चालन गर्न सक्ने मेसिन औजार निर्माण गर्न डा। पुनलाई आग्रह गर्नुभयो । डा। पुनले स्थानीय पालिकाको आवश्यक्ताका आधारमा मेसिन उपकरण निर्माण गर्ने जानकारी दिनुभयो । इलामको माईजोगमाई गाउँपालिकामा समेत डा। पुनसँग छलफल गरिएको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईले डा। पुनको अभियानमा पालिकाले सक्ने सहयोग गर्ने जानकारी दिनुभयो । डा। पुनले इलाम नगरपालिकामा किताब बेच्दै हुनुहुन्छ ।
मकवानपुरको मनहरीबाट किताव बेच्न थाल्नु भएका डा। पुनले अहिलेसम्म झापामा सबैभन्दा बढी ३० हजार बढी किताब बिक्री गर्नुभएको छ । सात सय ५० रुपियाँ मूल्य रहेको सो किताब हालसम्म दुई लाख ३५ हजार बढी बिक्री भइसकेको छ । किताब बिक्रीबाट १७ करोडभन्दा बढी रकम आविस्कार केन्द्रको नाममा जम्मा भएको छ । जसमा वीरगन्जको कृषि औजार कारखाना सञ्चालनको संरचना निर्माण र उपकरण खरिद गर्दा अझै आविस्कार केन्द्रको नाममा १२ करोड बढी रकम बचत रहेको छ ।


