इटहरी । उमेरले ६० वर्ष टेक्नु भएकी फिदिम नगरपालिका –१ पाँचथरकी भिमकुमारी दाहालले नियमित योग साधना गर्न थालेको १८ वर्ष पूराभयो । ‘४० वर्ष पूरा भएपछि हात खुट्टा पोलने, झम्झमाउने, अनिन्द्रासँगै शरीरमा विभिन्न समस्या उहाँमा देखिन थालेका थिए । योगमा जोडिएपछि विस्तारै समस्या निराकरण भएको उहाँको अनुभव छ । योग गर्न थालेपछि अल्छिपना हट्नुका साथै हाडजोर्नी र पाठेघरको समस्या समाधान समेत भएको उहाँले बताउनुभयो । फिदिम –४ की सीता खतिवडाले नियमित योग साधना गर्न थालेको २२ वर्ष भयो । ढाडको नसा च्यापिनुका साथै टाउको दुख्ने र पाठेघरको समस्याले गाँज्न थालेपछि यी सबै समस्याको समाधान योग नै हो भन्ने विश्वासका साथ आफू यो अभियानमा जोडिएको उहाँ सुनाउनुहुन्छ ।
आफ्नो दैनिकीलाई स्वस्थ ढङ्गले आरम्भ गर्ने कलासँगै योगले महिलालाई थप चिनारी दिइरहेको फिदिम –४ की शकुन्तला ओलीको अनुभव छ । उहाँले योग प्रारम्भ गरेको १० वर्ष बितिसकेको छ । उहाँ पाठेघरसम्बन्धि पीडित हुनुहुन्थ्यो, अहिले योगबाट नै समस्या समाधान भएको बताउनुहुन्छ । उहाँलाई डाक्टरले पाठेघर फ्याक्ने सल्लाह दिएका थिए । यद्यपि पी नियमित योग साधना गरेर पाठेघरको समस्या समाधान गरेको उहाँको अनुभव छ । भिमा, सिता र सकुन्तला नियमित योग साधना गर्ने पाँचथरे महिलाका प्रतिनिधि पात्र हुनुहुन्छ । पछिल्लो समय जिल्लामा विभिन्न संस्थाले सञ्चालन गरेका योग साधना केन्द्रमा पुरुषभन्दा महिलाकै संख्या दोब्बर बढी हुन थालेको छ । सदरमुकाम फिदिममा मात्र दैनिक पाँच ठाउँ योग अभ्यास गर्ने गराउने गरिन्छ ।
निःशुल्क रुपमा सञ्चालन हुने ती योग साधना केन्द्रमा योग सिक्ने मात्र नभएर गराउनेहरुमा पनि महिला उपस्थिति संख्या धेरै छ । नियिमनि योग साधना गर्दा थाइराइड, पाठेघर र टन्सिलले आदि समस्याको समाधान भएसँगै यो अभियानमा जोडिएको पतञ्जली योग समिति पाँचथरकी अध्यक्ष भक्तकुमारी डाँडीको अनुभव छ । फिदिम –१ की शान्ता गौतम शिक्षण पेशामा सेवा निबृत्त भएपछि योग साधनालाई अभियानका रुपमा प्रचार–प्रसार गरिरहनु भएको छ । उहाँ पाँचथरको महिला, त्यसमा पनि गृहिणी सहभागिता धेरै हुने कारणमा विविध रोगको व्यवस्थापन र स्वस्थ जीवनशैलीप्रतिको जागरूकता हुनसक्ने बताउनुहुन्छ ।
शारीरिक एवं मानसिक रूपले सबल हुने इच्छा, घरको चौघेराबाट खुला हावा लिँदा प्राप्त हुने स्वतन्त्रताको अनुभूति लिन पनि महिलाको सहभागिता बढिरहेको पतञ्जलि योग समितिका अध्यक्ष हरिप्रकाश सुवेदीले बताउनुभयो ।


