प्रेेक्षा आचार्य
इटहरी/ LOLA इटहरी च्याप्टरले मानसिक स्वास्थ्यसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मोरङको सुन्दरहरैचास्थित सुकेना बहुमुखी क्याम्पसमा आयोजित उक्त कार्यक्रममा २५ भन्दा बढी युवतीहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रशिक्षकका रूपमा मौसाम कोइरालाले सहजीकरण गरेका थिए । उनले मानसिक स्वास्थ्यको परिभाषा, यसको महत्व, दैनिक जीवनमा देखिने चुनौतीहरू र समाधानका सम्भावित उपायहरूबारे विस्तृत प्रस्तुति दिएका थिए । साथै सहभागी युवतीहरूलाई आत्मविश्वास अभिवृद्धि, भावनात्मक सन्तुलन कायम गर्ने तरिका, तनाव व्यवस्थापन, समय व्यवस्थापन र सामाजिक परिवेशमा मानसिक स्वास्थ्यको संरक्षण गर्ने सीपसमेत सिकाइएको थियो ।
सहभागीहरूले कार्यक्रममार्फत आफूले दैनन्दिन जीवनमा आवश्यक पर्ने व्यावहारिक सीप र ज्ञान प्राप्त गरेको अनुभूति व्यक्त गरेका थिए । उनीहरूले मानसिक स्वास्थ्यसम्बन्धी यस्ता प्रशिक्षणहरूले व्यक्तिगत मात्र नभई पारिवारिक र सामुदायिक जीवनमा पनि सकारात्मक प्रभाव पार्ने उल्लेख गरेका थिए ।
LOLA इटहरी च्याप्टरले भने निरन्तर यस्ता कार्यक्रममार्फत विशेषगरी युवतीहरूलाई आत्म–सशक्तिकरण, नेतृत्व विकास र सामाजिक चेतनामा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाका प्रतिनिधिहरूले मानसिक स्वास्थ्यलाई सामान्यीकृत गर्दै यसलाई सामाजिक संवादमा ल्याउन सबै पक्ष जिम्मेवार रहनुपर्ने धारणा राखेका थिए ।
युवतीहरूको सहभागिता र उत्साहजनक प्रतिक्रिया पाएपछि आगामी दिनमा थप व्यापक तथा दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको आयोजक समितिले जनाएको छ ।


