इटहरी। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीले ‘ओमकार परिवारसहितको सनातन हिन्दु राष्ट्र’ को एजेन्डा अघि सार्नुपर्ने जोडदार माग उठेको छ ।
बैठकमा आफ्ना धारणा राख्दै केन्द्रीय सदस्य भीम पराजुलीले नेपालको ऐतिहासिक सभ्यता, सनातन परम्परा, वैदिक संस्कृति र धार्मिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनका लागि कांग्रेसले सनातन हिन्दु राष्ट्रको स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्ने बताएका हुन् । यसबाट मात्र राष्ट्रको सर्वोपरी हित र समुन्नति कायम हुन सक्ने उनको तर्क छ । बैठकमा पराजुलीले पार्टीभित्रका मतभेद बिर्सेर संगठनलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए । पार्टीले सञ्चालन गरेको ‘हामी तयार छौँ’ अभियानलाई केवल भाषणबाजीमा सीमित नराखी व्यवहारिक र परिणाममुखी बनाउनुपर्ने उनको भनाइ छ । गुटगत विभाजन, कार्यविभाजनको अस्पष्टता र मूल्याङ्कन प्रणालीको अभावलाई सुधार गर्दै उत्पादनमुखी अर्थतन्त्र, कृषि आधुनिकीकरण, युवाको विदेश पलायन रोक्न राष्ट्रिय रोजगार नीति र लगानी सुरक्षासहितको ठोस विकास ढाँचा तयार गर्न उनले माग गरे ।
बदलिँदो सन्दर्भमा संघीय संरचनाको प्रभावकारिताबारे गम्भीर विमर्श आवश्यक रहेको औँल्याउँदै उनले प्रत्येक १० वर्षमा स्थानीय तहको सङ्ख्या, सीमा र संरचनाको वैज्ञानिक पुनरावलोकन गर्नुपर्ने बताए । स्थानीय सरकारलाई अधिकारसम्पन्न र आर्थिक रूपमा सक्षम बनाउन स्थानीय तहमा गैरदलीय निर्वाचन गर्नुपर्ने तथा प्रदेश संरचना परिमार्जनका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्ने प्रस्ताव उनले राखे । विगतको गठबन्धनले पार्टीको आधारभूत मत र संगठनमा पारेको असर स्मरण गराउँदै उनले आगामी स्थानीय तह निर्वाचनका लागि ‘प्राइमरी निर्वाचन प्रणाली’ विकास गर्न माग गरे । टिकट वितरणमा हुने आर्थिक चलखेल र अन्तर्घात रोक्न पहुँच र गुटभन्दा माथि उठेर लोकप्रियता, नैतिकता र चरित्रका आधारमा उम्मेदवार छनोट गर्नुपर्ने उनको भनाइ छ । साथै, लिडरसिप एकेडेमीमार्फत उम्मेदवारलाई संविधान, अर्थनीति, कूटनीति र सार्वजनिक प्रशासनको अनिवार्य प्रशिक्षण दिनुपर्ने सुझाव दिए ।
न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक अङ्गमा भइरहेको सरकारी हस्तक्षेप, उद्योगी व्यवसायीमाथिको धरपकड तथा प्रेस स्वतन्त्रता विरोधी कानुनविरुद्ध कांग्रेस सशक्त रूपमा उभिनुपर्ने उनले बताए । सहकारी पीडितको रकम फिर्ता, भूमिहीन तथा सुकुमबासीको दीर्घकालीन समाधान र अस्पतालमा आर्थिक अभावकै कारण उपचार नरोकिने वातावरण बनाउन पराजुलीले पार्टीको ध्यानाकर्षण गराए । यस्तै केही दिन अगाडि सम्पन्न प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, सीमा विवाद र ईपीजी प्रतिवेदन कार्यान्वयनका विषयमा पार्टीको स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनले माग गरे ।


