इटहरी। झापाको शिवसताक्षी नगरपालिका–११, दूधेस्थित रङ्गशालामा जारी दोस्रो झापा महिला गोल्डकपको उपाधिका लागि दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने भएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले शनिबार हुने फाइनल खेलमा उपाधि जित्ने दाबी गरेका छन् । सशस्त्र प्रहरी बलको एपीएफकी कप्तान रेणुका नगरकोटीले अघिल्लो संस्करणको फाइनलमा पराजित भएकाले यसपटक आफ्नो टोलीलाई त्यस्तो गल्ती दोहोर्याउने छुट नभएको बताउनुभयो । यद्यपि, त्रिभुवन आर्मी बलियो टोली भएकाले फाइनल खेल प्रतिस्पर्धात्मक हुने उहाँको भनाइ थियो ।
त्यस्तै, त्रिभुवन आर्मीकी कप्तान दीपा राईले दुवै टोलीबीच यसअघि पनि पटक–पटक खेल भइसकेकाले एकअर्काको खेल्ने शैली र गति बुझिसकेको बताउनुभयो । फाइनलमा जसले पहिले गोल गर्ने अवसर सिर्जना गर्न सक्छ, जित उसकै पक्षमा जाने उहाँले बताउनुभयो । दुवै टोलीमा राष्ट्रिय टोलीका खेलाडीसमेत रहेकाले फाइनल खेल प्रतिस्पर्धात्मक हुनुका साथै दर्शकले राम्रो खेलको आनन्द लिन पाउने राईको भनाइ थियो ।
आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको थियो भने आर्मीले साविक विजेता नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो । प्रतियोगिताको विजेताले ११ लाख रुपियाँ र उपविजेताले पाँच लाख ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।


