इटहरी। गत कार्तिक ८ गते सप्तकोशी नदीको त्रिवेणीमा भएको पानीबोट दुर्घटनाको कारण क्षमताभन्दा बढी यात्रु सवार हुनु, अचानक इन्जिन बन्द हुनु र कानुनी अनुमतिबिनै असुरक्षित रूपमा सञ्चालन गरिनु रहेको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ ।
कोशी प्रदेश सरकार ९मन्त्रिपरिषद्० द्वारा गठित छानबिन तथा अध्ययन समितिले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाउँदै अनुमतिपत्र नलिएका सबै पानीबोटको यात्रु ओसारपसार तत्काल रोक्न सिफारिस गरेको हो । प्रदेश सचिव आशमान तमाङको संयोजकत्वमा कार्तिक १० गते गठित १२ सदस्यीय समितिले स्थलगत अध्ययन, पीडित, उद्धारकर्ता, व्यवसायी तथा सुरक्षा निकायसँगको छलफलपछि तयार पारेको प्रतिवेदनमा सप्तकोशीमा सञ्चालित जलयात्रा सेवामा गम्भीर लापरबाही र नियमनको अभाव रहेको औँल्याएको छ । गत कार्तिक ८ गते दिउँसो करिब २ बजे भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरातर्फ आउँदै गरेको बराह त्रिवेणी जल यातायात प्रा।लि।को आउटबोर्ड मोटर ९ओबीएम० पानीबोट धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा दुर्घटना भएको थियो ।
चालकसहित १५ जना सवार उक्त बोटमा तीन जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन् । दुर्घटनामा सुनसरीको बराहक्षेत्र–१ की ५२ वर्षीया लिला राई, उदयपुर बेलका–९ का ५५ वर्षीय रत्नबहादुर नेपाली र भोजपुर हतुवागढी–७ की ५ वर्षीया आर्या राईको उपचारका क्रममा चतरा अस्पतालमा मृत्यु भएको थियो । यस्तै, झापा कन्काई–४ का ७ वर्षीय सुयोग मगर र २१ वर्षीया प्रमिला मगर तथा सुनसरी बराहक्षेत्र–१ की २३ वर्षीया मनिका राई अझै बेपत्ता छन् । दुर्घटनामा परेका अन्य आठ जना यात्रु सकुशल उद्धार भई घर फर्किएका छन् भने २४ वर्षीय चालक सुमन मगरलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा राखेको छ । दुर्घटनाग्रस्त पानीबोट नदीमै डुबेर बेपत्ता भएकाले यान्त्रिक खराबीको एकिन प्राविधिक परीक्षण हुन नसके पनि समितिले स्थलगत निरीक्षण र सरोकारवालाको बयानका आधारमा विभिन्न कारणहरु पत्ता लगाएको प्रतिवेदनमा उल्लेख छ ।
दुर्घटनाग्रस्त बोटमा जडित यामाहा एफ ७५ एचपी इन्जिन र डुङ्गाको संयुक्त भारवहन क्षमता करिब ४५० देखि ६८० केजी मात्र रहेकोमा बच्चासहित १५ जना यात्रु सवार हुँदा तौल क्षमताभन्दा बढी भई सन्तुलन बिग्रिएको प्रारम्भिक अध्ययनले देखाएको छ । सप्तकोशीको तीव्र बहावमा चलिरहेको बोटको इन्जिन एक्कासि बन्द हुँदा बोट अनियन्त्रित भई पानी पसेर डुबेको देखिएको प्रतिवेदनमा उल्लेख छ । बोटमा सवार बालबालिकाका लागि लाइफ ज्याकेटको व्यवस्था नभएको, चालकसँग आवश्यक अनुमतिपत्र र पर्याप्त तालिम नरहेको तथा बोटको नियमित प्राविधिक जाँच नगरिएको पाइएको छ । नेपालकै तीव्र बहाव भएको सप्तकोशी नदीमा हाल चलिरहेका बोटहरू जलयात्राका लागि उपयुक्त भएरनभएको विषयमा कुनै निकायबाट विस्तृत सम्भाव्यता अध्ययनसमेत नभएको प्रतिवेदनमा उल्लेख छ ।
दुर्घटनाबाट जोगिएकी झापा कन्काई–४ की २९ वर्षीया तीर्थकुमारी मगरले समिति समक्ष दिएको बयानमा माईबेनीस्थित सप्तकोशीमा बोटको स्टार्ट एक्कासि बन्द भएको बताएकी छन् । चालकले मेसिन भएको ठाउँमा गएर बोट स्टार्ट गर्ने प्रयास गर्दागर्दै भित्र पानी जमेर बोट डुबेको उनको भनाइ छ । ‘हामी ठूलाले लाइफ ज्याकेट लगाएका थियौँ, तर मेरो ७ वर्षको छोरासँग लाइफ ज्याकेट थिएन,’ उनले पीडा पोख्दै भनेकी छन्, ‘पानीमा डुबेलगत्तै मेरो हातबाट बच्चा छुट्यो, आजसम्म भेटिएको छैन ।’ उनले छोराको यथाशीघ्र खोजी, दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गरेकी छन् । उद्धारकर्ता तथा अर्का बोट अपरेटर खगेस ९खगेन्द्र० श्रेष्ठले दुर्घटनाको खबर पाएलगत्तै आफ्नो बोटका यात्रुलाई किनारमा ओरालेर खाली बोट लिएर जाँदा बग्दै आएका ११ जनाको उद्धार गरेको बताएका छन् । लाइफ ज्याकेट लगाएका कारण धेरैको ज्यान बचाउन सकिएको उल्लेख गर्दै उनले अब यस्ता विपत्ति रोक्न स्थानीय र प्रदेश सरकारले सुरक्षित जलयात्राको ऐन–कार्यविधि बनाउनुपर्ने माग गरे।
छानबिनका क्रममा दुर्घटनाग्रस्त ‘बराह त्रिवेणी जल यातायात प्रा।लि।’ २०८० मङ्सिर ११ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भए पनि जलयात्रा नियमावली, २०६३ बमोजिम सम्बन्धित निकाय र बराहक्षेत्र नगरपालिकाबाट व्यवसाय सञ्चालन अनुमतिपत्र नलिएको खुलेको छ । प्रतिवेदनअनुसार सप्तकोशीमा चतरादेखि भोजपुरको सिम्लेसम्म करिब १० किलोमिटर र दक्षिणतर्फ बोराबाँध क्षेत्रमा करिब ५ किलोमिटर दूरीमा २० वटाभन्दा बढी मोटरबोट सञ्चालनमा छन् । तर, बराहक्षेत्र नगरपालिकामा गत आर्थिक वर्ष २०८२र८३ मा ६ वटा कम्पनी मात्र व्यवसाय दर्ता भएको अभिलेख छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी अर्यालले समेत स्पष्ट कानुनी व्यवस्था र अनुगमन नहुँदा व्यवसायीले आफूखुसी बोट चलाइरहेको जानकारी समितिलाई दिएका छन् ।
हाल प्रचलित पर्यटन ऐन, २०३५ र जलयात्रा नियमावली, २०६३ ले मनोरञ्जन तथा पर्यटकीय दृश्यावलोकनका लागि गरिने जलयात्रा ९र्याफ्टिङ० लाई मात्र समेटेको छ । सर्वसाधारणलाई भाडा लिएर नियमित यात्रु ओसारपसार गर्ने सेवाका लागि स्पष्ट कानुनी व्यवस्था नभएको समितिको विश्लेषण छ । यद्यपि, लापरबाहीपूर्वक बोट चलाएर ज्यान गएको अवस्थामा मुलुकी अपराध संहिता, २०७४ को दफा १८२ र १८३ बमोजिम ज्यानसम्बन्धी कसुरमा फौजदारी कारबाही हुने र यस प्रतिवेदनले धनकुटा प्रहरीको अनुसन्धानलाई कुनै असर नगर्ने समितिले स्पष्ट पारेको छ । समितिले हाल सञ्चालनमा रहेका सबै जल यातायात संस्थाहरूलाई जलयात्रा नियमावली, २०६३ बमोजिम तीन महिनाभित्र सञ्चालन अनुमतिपत्र लिन निर्देशन दिने र अनुमतिपत्र प्राप्त नगरेसम्म यात्रु ओसारपसारमा रोक लगाउन सिफारिस गरेको छ । यस्तै नेपालका ठूला नदीहरूमा जलयातायातको एकरूपता कायम गर्न संघीय मापदण्डसहितको ‘छाता कानुन’ निर्माणका लागि प्रदेश सरकारले संघीय विषयगत समितिमा प्रस्ताव पेस गर्नुपर्ने छानविन समितिले ठहर गरेको छ ।
समितिले प्रदेश र स्थानीय तहबाट नयाँ कानुन नबनेसम्म प्रचलित नियमावली कडाइका साथ लागू गर्दै स्थानीय तह र नियामक निकायले तत्काल सबै बोटको दर्ता, बीमा, चालकको योग्यता र प्राविधिक परीक्षण गर्नुपर्ने र कानुनी अभावका कारण यात्रु बीमालगायतका व्यवस्था कार्यान्वयन नभएकाले मृतक तथा बेपत्ताका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन कोशी प्रदेश मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गर्नुपर्ने उल्लेख गरेको छ । कोशी नदीमा वि।सं। २०७५ असोजदेखि व्यावसायिक रूपमा जेटबोट तथा मोटरबोट सेवा सुरु भएपछि भोजपुर, धनकुटा र उदयपुरका दुर्गम क्षेत्रका बासिन्दालाई तराई झर्न निकै सहज भएको थियो । तर, आवश्यक कानुनी प्रबन्ध, नियमित अनुगमन र सुरक्षा मापदण्डको अभावमा सप्तकोशीको जलयात्रा पछिल्लो समय जोखिमपूर्ण बन्दै गएको समितिको ठहर छ ।


