इटहरी । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको चिचिला गाउँपालिका –४ मत्स्यपोखरीमा आयोजित चिचिला महोत्सवमा एक करोड ५५ लाख रुपियाँको कारोबार भएको छ । 

मङ्सिर ५ देखि ८ गतेसम्म सञ्चालन भएको चिचिला महोत्सवमा चिचिला गाउँपालिकाद्वारा बिनियोजित १० लाख, कोशी प्रदेश सरकारको १५ लाख रुपियाँ र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको लागत साझेदारी रहेको थियो । स्थानीय उत्पादन, आयातित र होटल ब्यापार ब्याबसाय लगायत विभिन्न क्षेत्रगत रुपमा अनुगमन मूल्याङकन गर्दा दिनरात महोत्सव सञ्चालन हुँदा एक करोड ५५ लाख रुपियाँ बराबरको कारोबार भएको प्रतिवेदन प्राप्त भएको चिचिला गाउँपालिकाकाको अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मत्स्यपोखरी धार्मिक तथा पर्यटकीय हिसाबले समेत उत्कृष्ट गन्तब्य भएको हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरुको बाक्लो उपस्थिति रहेको थियो । यो ठाउँमा अर्गानिक पानी मकैदेखि धुन्से नाङ्लो लगायतका धेरै सामानहरु प्रशस्त पाइने भएकाले किनमेल र महोत्सव हेर्न दैनिक मानिसहरुको भिड थियो । महोत्सव उत्कृष्ट रुपमा सम्पन्न भयो ।’ मेला महोत्सवले मानिसहरुमा मनोरञ्जनका साथै पर्यटन प्रवर्धनमा सघाउ पुगाउने अध्यक्ष शेर्पाको भनाइ छ । चिचिला महोत्सव बजार अनुगमन समितिका संयोजक तथा चिचिला ४ नम्बरका वडाध्यक्ष बालकुमार तामाङले प्रत्येक स्टल र पसलहरुको अनुगमन गरी बिक्री बारेमा मूल्याङकन गरी प्रतिवेदन तयार गरिएको बताउनुभयो । उहाँको अनुसार, चार दिने महोत्सवमा १५ हजार पाँचसय जनाले महोत्सवको अनुगमन गरेको पाइएको छ । 

सदरमुकाम खाँदबारीबाट करिब ३५ किमि दुरीमा रहेको मत्स्यपोखरी घुमफिर गर्न लायक पर्यटकीय तथा धार्मिक गन्तब्य समेत हो । मत्स्यपोखरीको संरक्षण गरि हेर्न लायक र घुम्न लायक बनाइएको छ । गाउँभरि होमस्टे सञ्चालनमा छ । पोखरी वरिपरि सुन्दर बगैंचाल, बसाह, नाग, गौतम बुद्ध, पानीको छहरा, पाटी पौवा, फलैचा र मन्दिरहरु रहेका छन् । महोत्सवमा विभिन्न जातजातिको झाँकी, स्थानीय उत्पादनको स्टल, स्थानीय अर्गानिक खानाका परिकारहरु, फुड फेस्टिभल, पालिकास्तरीय भलिवल प्रतियोगिता र साहित्यिक कार्यक्रम सञ्चालन भएको थियो ।