इटहरी । सुनसरीको रामधुनी नगरपालिकामा निर्माणाधीन रंगशालाको प्याराफिट गुणस्तरहीन देखिएपछि भत्काउन निर्देशन दिइएको छ । २०८१ साल माघ ६ गते सम्झौता भई २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नेगरी १ करोड २० लाख ४० हजार ३८० रुपैयाँमा ठेक्का प्रक्रिया भएको थियो । उक्त काम इटहरीस्थित अभयचन्द्र बिल्डर्स एण्ड इन्जिनियर प्रालिले ७७ लाख ६६ हजार ६६० रुपैयाँमा हात पारेको थियो । हालसम्म ठेकेदार कम्पनीले तीन किस्तामा २४ लाख ४५ हजार २३७ रुपैयाँ भुक्तानी लिइसकेको छ ।
रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापा, प्राविधिक, कार्यपालिका सदस्य तथा स्थानीयवासीको उपस्थितिमा गरिएको अनुगमनपछि प्याराफिट कम्सल देखिएर ल्याबमा परीक्षण पठाइएको थियो । प्राविधिक प्रतिवेदनअनुसार २८ दिनपछि प्याराफिटको एभरेज कम्प्रेसिभ स्ट्रेन्थ १७ न्यूटन पर एमएम स्क्वायर हुनुपर्नेमा ८.१६ मात्र देखिएपछि प्याराफिट भत्काउन लगाइएको नगर उपप्रमुख तारा थापाले बताउनुभयो । नगर उपप्रमुख थापाले गुणस्तरहीन संरचनाको भुक्तानी नगरिने प्रष्ट पार्दै, जनताको करको पैसामा लापरबाही सह्य नहुने चेतावनी दिनुभयो । मापदण्ड नपुगेको ठहर भएपछि नगरपालिकाले उक्त संरचना भत्काएर पुनः निर्माण गर्न निर्देशन दिएको हो । पुनःनिर्माणका लागि कार्तिक मसान्तसम्मको समय दिइएको पालिकाले जनाएको छ ।


