इटहरी । नव युवा क्लब बूढीगंगा–६, सुकुचर, मोरङद्वारा आयोजित पाँचौं बूढीगंगा सुकुचर च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि इटहरीको तालतलैया फुटबल क्लबले हात पारेको छ । बुधवार सम्पन्न फाइनल खेलमा तालतलैयाले चुलाचुली स्पोर्टिङ क्लब दमकलाई २–० ले पराजित गर्दै उपाधि चुमेको हो । तालतलैयाका लागि विजय भुजेलले दुई गोल गर्दै उपाधि दिलाउन सफल हुनुभएको थियो । खेलको ३१ औँँ मिनेटमा विजयले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो भने ५२ औँ मिनेटमा पुनः अर्को गोल गर्दै जीत सुनिश्चित गर्नुभयो । उपाधि चुमेसँगै तालतलैया फुटबल क्लबले नगद एक लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता चुलाचुली स्पोर्टिङ क्लबले एक लाख एक हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि तालतलैयाका खेलाडीहरूको वर्चश्व रह्यो । तालतलैयाका लागि मौसम सुब्बा सर्वोत्कृष्ट खेलाडी, विश्वास चौधरी उत्कृष्ट गोलरक्षक, प्रवेश दनुवार उत्कृष्ट डिफेन्डर, विजय उराउ उत्कृष्ट फरवार्ड र सजीवन राई उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । यसैगरी चुलाचुलीका लागि हेमन लिम्बू उत्कृष्ट मिडफिल्डर घोषित हुँदा आयोजक नव युवा क्लबका आशिष चौधरी उदयीमान खेलाडी घोषित हुनुभयो । यसैबिच, तालतलैया फुटबल क्लबका प्रशिक्षक राईले आफ्नो टोलीमा अनुभवी र घरेलु उत्पादनका नयाँ पुस्ताका खेलाडीहरूबीच सन्तुलन मिलाएर खेल योजना बनाएकाले उपाधि चुम्न सहयोग पु¥याएको प्रतिक्रिया दिनुभएको छ ।