इटहरी । करिब एक अर्ब रुपैयाँको कारोबार नजिक पुगेको महिला बचत तथा ऋण सहकारी संस्था, इटहरीले आफ्नो २८ औं स्थापना दिवस मनाएको छ । सहकारीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै ५० भन्दा बढी विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्दै दिवसलाई विशेष बनाएको छ । कार्यक्रम प्रदेश सहकारी तथा प्रशिक्षण कार्यालय, कोशी इनरुवाका प्रमुख भुपेन्द्र खनालको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम संस्थाकी अध्यक्ष मुना तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो । स्थापना दिवसको अवसरमा सहकारीले ७० वर्ष उमेर नाघेका ज्येष्ठ सदस्यहरूलाई नियमित भत्ता दिने पेन्सन सुविधा’ सुरु गर्ने नीति सार्वजनिक गरेको छ । यस्तै, गम्भीर प्रकृतिका रोगहरू लागेका सदस्यहरूलाई अधिकतम ५० हजार रुपैयाँ सम्मको निःशुल्क आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिएको छ । उक्त कार्यक्रममा सहकारी आन्दोलनमा विशेष योगदान दिने संस्थापक सदस्यहरू, सञ्चालकहरू र स्थानीय समुदायका अग्रणी व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा सहकारी क्षेत्रका विशेषज्ञहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू, तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सधैं सदस्यहरूको हितमा समर्पित रहँदै आएको महिला बचत तथा ऋण सहकारी संस्था, इटहरीले आगामी दिनहरूमा पनि समाजका सबै वर्गलाई समेट्दै सशक्त, समावेशी र उत्तरदायी सहकारी अभ्यासलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।


