इटहरी । हाम्रो फाउण्डेशन परिवार, पथरी शनिश्चरेले  मोरङको पथरी शनिश्चरे वडा नं १ को वडा कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर सहयोग उपलब्ध गराएको छ । आइतबार एक संक्षिप्त कार्यक्रमका बीच उक्त  फाउण्डेसनले  विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा सहयोग हस्तान्तरण गरेको हो।  “शिक्षा र परोपकार , हाम्रो सरोकार“ भन्ने मूल नाराका साथ उक्त फाउण्डेसनले उक्त वडा कार्यालयलाई कार्यालय सञ्चालन सहज बनाउने उद्देश्यले १ थान दराज,   ३ थान टेबल, २८ स्थान प्लास्टिक कुर्सी,३ थान आधुनिक कुर्सी चियर, ४ थान थ्री सिटर चेयर,  दुई थान वाल फेन, एक थान स्टेन ह्याङ्गर, लगायतका सामानहरु  नेपालकी प्रथम शंकराचार्य  हेमानन्द गिरीको प्रमुख आतिथ्यतामा  हस्तान्तरण गरिएको थियो। जेन्जी आन्दोलनले यस वडामा तोडफोड, आगजनी र चोरीजस्ता घटना बढाएको अवस्थामा, देश–विदेशमा रहेका नेपालीहरूले हाम्रो फाउन्डेसन मार्फत प्रदान गरेको सहयोग प्रति उहाँले आभार व्यक्त गर्नुभयो । हाम्रो फाउन्डेसनका संयोजक प्रदिप कुमार राईले गत भदौ २३÷२४ गते  भएको आन्दोलनले पथरी शनिश्चरे नगरपालिकाका वडा सहित राष्ट्रिय भौतिक र प्रशासनिक संरचनामा क्षति पु¥याएको बताउँदै, जनताका काम सहज बनाउन आवश्यक सामग्री वडा कार्यालयमा उपलब्ध गराइएको जानकारी दिनुभयो। साथै, दशैं–तिहारको खर्च कटौती गरी देश–विदेशमा रहेका दाजुभाइ–दिदीबहिनीहरूले वडा कार्यालयलाई फर्निचर र अन्य सामग्री प्रदान गरेको उहाँले जनाउनुभयो । पथरी शनिश्चरे नगरपालिकाका वडाका जनप्रतिनिधिहरूले यस्ता विध्वंशकारी घटनाहरू पुनः आउँदा पुस्ताले भोग्न नपरोस् भन्दै हाल विभिन्न संघ–संस्था, व्यक्तित्व र सामाजिक व्यक्तिहरूले दिइरहेको सहयोग आगामी दिनहरूमा पनि निरन्र्तता दिन अनुरोध गर्नुभयो । कार्यालयबाट नगद २ लाखभन्दा बढी रकम, फर्निचर, टेबल, कागजात, ल्यापटप, प्रिन्टर लगायतका सामग्री नष्ट भएको थियो। उक्त कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य वीरधोज शिवा, शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलमणि गुरुङ, वडा सचिव मित्रकला चापागाईं, वडा सदस्य सुरेश कार्की, बसुन्धरा गुरुङ, आरती बिक, पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन बिक सहित विभिन्न संघ–संस्था र सामाजिक व्यक्तित्वको बाक्लो उपस्थिती रहेको थियो ।