इटहरी । हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । राईले करिब २० रोपनी क्षेत्रमा व्यावसायिक एभोकाडोखेती गरिरहेको बताउनुभयो । बुढ्यौली उमेरमा पनि राईले एभोकाडोखेतीमा गरेको मेहेनत निकै लोभलाग्दो छ ।बाँझो जमिनको सदुपयोग गर्दै कृषिमा आम्मनिर्भर बन्ने लक्ष्यका साथ व्यावसायिक एभोकाडोखेती विस्तार गरेको राईको भनाइ छ । भावी दिनमा वार्षिक रु १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्यअनुरुप थप खेती विस्तारमा जुटेको उहाँले बताउनुभयो । राईले उत्पादन गरेको एभोकाडो स्थानीय बजारसँगै काठमाडाँै, विराटनगर, धरान, इटहरीलगायत देशका ठूला सहरमा पुग्ने गरेका छन् ।
कृषिबाट आत्मनिर्भर बन्ने उद्देश्यले बहुवर्षीय बालीको विस्तारमा जोड दिइएको उहाँको भनाइ छ । स्थानीय तह तथा राज्यका अन्य निकायबाट आवश्यक सहयोग पाएसँगै पछिल्लो समय भोजपुरमा व्यावसायिक कृषिमा जुट्नेको सङ्ख्या बढ्दै गएको छ । ग्रामीण भेगमा उत्पादन भएको वस्तुको सहज यातयात नहुँदा भने बजारीकरणमा समस्या रहेको किसानहरूले बताउने गरेका छन् । किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा भने राज्यले ध्यान दिए सहजता हुने किसानहरूको भनाइ छ ।


