इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं ८, गोगनेमा आयोजित खुल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको समापन भएको छ । असोज ३० गते दखि सुरू भएको प्रतियोगिता कात्तिक १ गते समापन भएको थियो । प्रतियोगितामा रामप्रसाद राई गाउँपालिका वडा नं ५ मानेभञ्ज्याङले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ । मानेभञ्ज्याङले उपाधिसँगै ४१ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशी प्राप्त गरेको हो । त्यसैगरी, रामप्रसाद राई गाउँपालिका वडा नं ७ बासिखोराले दोस्रो स्थान प्राप्त गर्दै २५ हजार ५ सय ५५ रुपैयाँ, र वडा नं ४ दलगाउँले तेस्रो स्थान प्राप्त गर्दै १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रमको उद्घाटन खेल राजनीतिक प्रतिनिधि र कर्मचारीबीच भएको थियो भने मैत्रीपूर्ण खेलको रूपमा महिला भलिबल प्रतियोगिता समेत आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता गोगने खेलकुद विकास समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले गर्नुभएको थियो । सो प्रतियोगिताको प्रमुख अतिथि टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत रहनुभएको थियो भने विशेष अतिथि गाउँपालिकाकी उपाध्यक्ष रमा देवी राई रहनुभएको थियो । प्रतियोगिताले स्थानीय युवाहरूमा खेलकुद प्रतिको आकर्षण बढाउनुका साथै गाउँस्तरमा भलिबल खेलको विकासमा टेवा पुगेको आयोजक समितिको भनाइ छ ।


