इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताउनुभएको छ । मंगलबार बालुवाटारमा जेनजी आन्दोलका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रिया सम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी काम गर्ने बताउनुभयो । त्यस्तै जनेजी आन्दोलनले दिएको म्यान्डेट अनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने उहाले बताउनुभयो । त्यस्तै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अनुसन्धान पनि हुने भन्दै राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेको जानकारी दिनुभयो । छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेहरुले भ्रष्टाचारी र दमनकारी विरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिदै भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी दिएका थिए । छलफलमा सहभागी सञ्चारमन्त्री जगदीश खरेलले आन्दोलनपछि यसअघिको सरकार र प्रतिनिधिसभा विस्थापीत गरेपनि पुरानै संरचना कायमै रहेकाले काम गर्नका लागि असहज भइरहेको बताउनुभयो । त्यस्तै गृहमन्त्री ओम प्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको कार्यप्रगतिबारे घाइतेहरुलाई अवगत गराउनुभएको थियो । घाइतेहरुले जेनजीले उठाएका मुद्दाहरुमा भन्दा निर्वाचनमा मात्रै सरकारको ध्यान गएको भन्दै आपत्ति जनाएका थिए । जेनजी आन्दोलनका क्रममा घाइते रुपिन खड्काको नेतृत्वमा १८ जनाको समूहले प्रधानमन्त्री संग छलफल गरेका हुन् ।


