इटहरी । मोरङको पथरी शनिश्चरे–१ जाँते मोडमा रहेको प्रस्तावित रंगशालामा यही कात्तिक १५ गतेदेखि दोस्रो पथरी शनिश्चरे आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता सम्पन्न गर्न तयारी तीव्र पारिएको आयोजक पथरी–११ फुटबल क्लबले जनाएको छ । प्रतियोगिता सुरु हुन १३ दिन बाँकी रहँदा पनि मुख्य, सह–प्रायोजक र अन्य सहयोगी प्रायोजकको टुंगो भने अझै लागेको छैन । करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गोल्डकपमा काठमाडौंका तीन ‘ए’ डिभिजन क्लब, एक भारतीय टोली सहित कुल ८ टिम सहभागी हुनेछन् ।
कात्तिक २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै, उत्कृष्ट खेलाडी र अन्य विधागत खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ। गत वर्षको पहिलो संस्करणमा ललितपुरको ब्रीगेड ब्वाइज क्लबले संकटा क्लब काठमाडौंलाई पराजित गर्दै उपाधि जितेको थियो। आयोजक क्लबका अध्यक्ष सुमन विकका अनुसार खेलमैदानमा प्याराफिट निर्माण, घाँस काट्ने र सरसफाइका काम तीव्र गतिमा भइरहेको छ । उहाँले प्रायोजकको खाँचो अझै रहँदै आएको बताउँदै देश–विदेशका खेलप्रेमीहरूलाई सहयोगका लागि अपिल गर्नुभएको छ ।


