इटहरी । इटहरी र सुन्दरहरैंचाको सीमाक्षेत्र बूढीगंगा–जमुना मुक्तिधाममा यस वर्ष भव्य रूपमा ३६औं छठ पर्व मनाइने भएको छ । यस सम्बन्धमा छठ पर्व सेवा समितिद्वारा इटहरीमा पत्रकार सम्मेलन गरी तयारी, कार्यक्रम र खर्च विवरण सार्वजनिक गरिएको हो । सुव्यवस्थित तयारीसहित यस वर्षको छठ पर्वमा कोशी प्रदेशका विभिन्न जिल्ला र भारतका सीमावर्ती क्षेत्रहरूबाट करिब २ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरू सहभागी हुने अनुमान गरिएको छ । समितिका सचिव मुकेशकुमार चौधरीले विगतका वर्षहरूमा महामारी, डेङ्गु तथा आर्थिक कठिनाइका बाबजुद समितिले निरन्तर धार्मिक परम्परा निर्वाह गर्दै आएको बताए । भाइटीकाको भोलिपल्ट कार्तिक ७ गते नदी, पोखरी, नहरमा स्नान गरी लौका तरकारी र चामलको भात खाने गरिन्छ । उनका अनुसार पहिलो दिन ९कार्तिक ८० ब्रतालुहरूले लसुन, प्याजलगायत निषेधित वस्तु परित्याग गरी शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन् । यसैगरी कार्तिक ९ गते घरको विशेष कोठालाई गोबरले लिपपोत गरी चोख्याएर पूजा गरिन्छ । कार्तिक १० गते छठको मुख्य दिन निराहार व्रत बसिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिने उनले बताए । ११ गते भने सूर्योदयलाई जल चढाएर, सूर्य नारायण मन्दिरमा गई जल चढाएपछि मन्दिर प्राङ्गणबाटै छठ पर्व समापन हुने चौधरीले बताए । यस वर्ष पाँच सय ५० वटा पूजा घाट निर्माण गरेको समितिले जनाएको छ । घाट निर्माण, सरसफाइ, मन्दिर सजावट, सांस्कृतिक कार्यक्रमलगायत तयारीहरू अन्तिम चरणमा पुगेको जनाइएको छ । छठ पर्वलाई सभ्य, भव्य, सुरक्षित र सुव्यवस्थित बनाउनका लागि समितिले १८ वटा उप–समितिहरू गठन गरेको छ । जसमा अर्थ संकलन, पूजा घाट व्यवस्थापन, प्रचारप्रसार, भण्डारा, प्रसाद, सुरक्षादेखि मञ्च व्यवस्थापनसम्मका जिम्मेवारी बाँडिएका छन् । सुरक्षाका लागि १०० जना स्वयंसेवक, ५० जना सुरक्षा गार्ड, सिसी क्यामेरा निगरानी र ट्राफिक व्यवस्थापन गरिने समितिले जनाएको छ । कार्यक्रमको व्यवस्थापनका लागि २६ लाख रुपैयाँ बराबरको खर्च अनुमान गरिएको छ ।