इटहरी । नेपाल सम्वत् ११४६ बुधबार नेपालभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। सामान्य ब्यापारी शंखधर साख्वाले विक्रम संवत ९३७ मा काठमाडौं उपत्यकाका गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गर्नुभएको थियो । नेवार समुदायले ‘न्यू दया भिन्तुना’भन्दै उल्लासका साथ मनाएका हुन् । नेवारी भाषामा भनिएको न्यू को अर्थ नयाँ, दको वर्ष, या भनेको को र भिन्तुनाको शुभकामना हो। नेपाल संवत् ११४६ को अवसरमा बुधबार धनकुटामा पदयात्रा गरिएको छ । सिरान बजार समूहको संयोजनमा भएको पदयात्रा धनकुटाको श्रीवानीमा रहेको शंखधर साख्वा चोकबाट सुरु भएर मदन चोक, चुवाको बोट, भीमसेन थान, तल्लो कोप्चे, माथिल्लो कोप्चे हुँदै भीमनारायण चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। विभिन्न भेषभुषा, बाजागाजा र सांस्कृतिक प्रदर्शन सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो। नेपाल संवतका प्रवर्तक शंखधर साख्वाले जनताको ऋण मोचन गरी स्थापना गरेको सो संवत् विश्वमै देशका नाममा स्थापित एक मात्र संवत् रहेको बताइएको छ । नेपाल सरकारले नेपाल संवत् ११२९ मा सो संवत्लाई राष्ट्रिय संवतको औपचारिक मान्यता प्रदान गरिसकेको छ । नेपालमा नेवार समुदायको बाहुल्य बसोबास रहेको क्षेत्रमा नेपाल सम्वतको नयाँवर्ष हर्षोल्लासका साथ मनाइन्छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत् समेत चलाएको कार्यको उच्चमूल्यांकन गर्दै २०५५ सालमा सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । यसैबीच नेपाल संवत् सुरु भएको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा गरिएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजापर्व मनाउने गर्दछने । आत्म सन्तुष्ट बनाइ खुसी राख्न सके देवी देवता पनि प्रशन्नभई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ। म्हपूजाका बेला आफ्नो शरिर पुजा गरेर मंगलका प्रतीक फलफूल, माछा, फुल आदि ग्रहण गर्ने परम्परा रहेको छ । आफ्नो शरीरको तान्त्रिक विधिबाट हुने पूजाले वर्षभरि चोट नलाग्ने, बिरामी नहुने र सुखशान्ति प्राप्त हुने विश्वास रहेको छ ।