इटहरी । इटहरीमा र धरानमा दुई छुट्टा–छुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भाइटीकाको दिन बिहीवार छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। इटहरी उप–महानगरपालिका–११ स्थित भित्री सडकखण्डमा बिहीवार राति करिब २१ः१० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३७ प ३९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय राम सरदारको मृत्यु भएको हो । इटहरी–८ निवासी उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले सरदारको मृत्यु भएको प्रहरीले पुष्टि गरेका छन् । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ भने मोटरसाइकल प्रहरी नियन्त्रणमा छ। यसैगरी बिहीवार दिउँसो १६ः४० बजेतिर धरान उप–महानगरपालिका–१७ सर्दुपुलमा दुर्घटना भएको हो । प्रदेश १–०२–०५० प ५२२६ नम्बरको मोटरसाइकल चतराबाट धरानतर्फ आउँदै गर्दा आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा उदयपुरको चौदण्डीगढी नगरपालिका–४ निवासी ५२ वर्षीय नगेन्द्रप्रसाद राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुवै घटनाबारे प्रहरीबाट थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।


