इटहरी । अभिनेता विल्सन विक्रम राई ‘तक्मे बुढा’को निर्देशनमा बनेको कथानक फिल्म ‘मैझारो’ शुक्रबार देखि देशभर प्रदर्शनमा आएको छ । उहाँको निर्देशन डेब्यू रहेको यो फिल्मले प्रेम, सम्बन्ध र जीवनका संवेदनशील पक्षलाई चित्रण गरेको बताइएको छ । कम्तीमा ८० शो सहित देशभर प्रदर्शनमा आएको ‘मैझारो’मा धीरज मगर, मिरुना मगर र दीया पुन मुख्य भूमिकामा छन् ।  पहिलो पटक धीरज र दीया एउटै पर्दामा देखिनुभएको छ । इलामका मनमोहक दृश्यमा चित्रित फिल्मको कथावस्तु त्रिकोणात्मक प्रेम सम्बन्ध वरिपरि घुमेको छ। निर्देशक राईले स्वयं पनि फिल्ममा अभिनय गर्नुभएको छ । सोसल–ड्रामा जनराको यो फिल्मको रन टाइम १४१ मिनेट रहेको छ । तिहार र छठ पर्वको छेकोमा रिलिज भएको ‘मैझारो’ले पारिवारिक दर्शकलाई लक्षित गरेको बताइएको छ । यसै साता ‘सोल्टिनी’, ‘वरिष्ठ बलराम’ र ‘जेरी अन टप’ लगायतका अन्य नेपाली फिल्म पनि रिलिज भएका छन् । साथै विदेशी फिल्महरू समेत प्रदर्शनमा रहेकाले हलहरूले शो संख्यामा विभाजन गरेको देखिएको छ । निर्देशक राईका अनुसार, ‘मैझारो’ले नेपाली सिनेमालाई भावनात्मक कथाको नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।