भोजपुर — अरुण गाउँपालिका–१ याङपाङ निवासी नगेन्द्र खत्रीले गाउँपालिकाभित्र पछिल्ला दिनमा देखिएका प्रशासनिक र राजनीतिक गतिविधिप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले विशेषगरी गाउँपालिकाको केन्द्र प्याउलीमा रहेको स्थायी प्रहरी चौकीलाई विस्थापित गर्दै मऱ्याङडाँडामा नयाँ अस्थायी प्रहरी पोष्ट स्थापना गर्ने निर्णयप्रति आपत्ति जनाएका छन्।

खत्रीका अनुसार, प्याउलीमै भौतिक संरचना, बाटो, पानी र बजारसहित सुविधा सम्पन्न नयाँ प्रहरी चौकी भवन सञ्चालनमा रहँदा रहँदै त्यस भन्दा करिब ५०० मिटर माथि अर्को चौकी बनाउन खोजिनु अनावश्यक र जनविरोधी कदम हो। उनले भने, “पहिले नै स्थायी चौकी रहेको ठाउँमा पुनः अर्को चौकी निर्माणको लागि बजेट विनियोजन गर्नु सान्दर्भिक छैन।”

उनले आरोप लगाएका छन् कि तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाली काँग्रेसका महामन्त्री गगन थापाको दबाबमा मऱ्याङडाँडाको जग्गा धनीपुर्जीमा “प्रहरी चौकी मऱ्याङडाँडा, प्याउली” नाम परिवर्तन गरिएको हो। सो क्रममा जग्गाधनीलाई सम्मान र प्रमाणपत्र प्रदान गरी करिब एक करोड पचास लाख रुपैयाँ बजेट समेत विनियोजन गरिएको उनले बताएका छन्।

खत्रीका अनुसार, यसरी चौकी स्थानान्तरणको प्रयास “शक्ति, पहुँच र दम्भको आडमा” भइरहेको छ र यो अरुणका सर्वसाधारण जनताको हितमा नभएको दाबी गरेका छन्। उनले गाउँपालिकाका जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षक, राष्ट्रसेवक कर्मचारी लगायत सबैलाई मौन नबस्न आग्रह गर्दै भनेका छन्, “जनताको सहजतासँग जोडिएको सेवा र सुविधा केही व्यक्तिको स्वार्थका कारण केन्द्रिकृत गरिनु लोकतान्त्रिक मूल्य विपरीत हो।”

उनले यो विषयमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र जिल्ला सुरक्षा निकायको ध्यानाकर्षण समेत गराएका छन्। साथै, हाल स्थायी प्रहरी चौकी रहेको प्याउलीको भवन र पूर्वाधारको फोटो पनि सार्वजनिक गर्दै “प्याउलीको चौकी नै पर्याप्त छ, ५०० मिटर पर अर्को चौकी चाहिँदैन” भन्ने आफ्नो स्पष्ट धारणा व्यक्त गरेका छन्।

अन्त्यमा, उनले हाल चर्चामा रहेको “Gen Z समूह” सम्बन्धी विषयमा पनि प्रतिक्रिया जनाउँदै भनेका छन् — “यदि यो समूह कुनै व्यक्तिलाई अमुक बनाउन वा व्यक्तिगत स्वार्थका लागि गठन गर्न खोजिएको हो भने त्यो गलत हुनेछ। अरुणको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध एक भएर आवाज उठाउनका लागि मात्रै सहकार्य गरौँ।”