इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तरगत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ । भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने सो सडक गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङ्देखि केन्द्र च्याङ्ग्रेसम्म कालोपत्र गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले तिवारीभञ्याङ्–अधेँरीघाटसम्मको ३१ किलोमिटर सडकखण्डमध्ये हालसम्म तीन किलोमिटर कालोपत्र सम्पन्न भएको बताए। सङ्घीय समपूरक अन्तरगत गाउँपालिकाको बजेटमा सडक कालोपत्र गरिएको उनको भनाइ छ । गाउँपालिकाका अध्यक्ष किरण राईले यो सडकलाई गाउँपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएकाले यसको गुणस्तर र निरन्तरतामा विशेष ध्यान दिइएको बताए। यो सडक भोजपुरबासीलाई तराईका जिल्लासँग जोड्ने छोटोमार्ग भएकाले प्राथमिकताका साथ कालोपत्रको काम थालिएको अध्यक्ष राईको भनाइ छ । सडक कालोपत्रपछि स्थानीयमा उत्साह बढेको वडा नं ३ च्याङ्ग्रेकी सावित्रा खत्रीले बताए। सडक कालोपत्र बनेपछि आवतजावतमा सहजता भएको उनको भनाइ छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार यो सडक प्रिमिक्स प्राविधिमा निर्माण भइरहेको छ । नालीसहितको आठ मिटर चौडाइ भएको यो सडकले स्थानीय यातायात र व्यापारिक गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । यो सडकले पौवादुङमाका छमध्ये पाँच वटा वडालाई समेटेको छ ।