काठमाडौं । एपेक नेपालको प्रस्तुति 'एपेक राष्ट्रिय काव्यमहोत्सव २०८२' को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आगामी साता अर्थात् कार्तिक १५ गते शनिबार कोशी प्रदेशको सुनसीको इटहरी स्थित सोल्टि होटलमा हुने महोत्सवमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख अतिथितामा सात प्रदेशका १४ कविहरु सहभागी हुनेछन् ।
आयोजकले यस प्रकारको काव्यिक जमघट ऐतिहासिक हुने संज्ञा दिएको छ ।आयोजक एपेक नेपालले भनेको छ, 'हामी आन्तरिक तयारीको अन्तिम चरणमा आइपुग्यौ र अब यहाँहरुको स्वागतमा जुट्ने जमर्कोमा छौ। सबै सहृदयी शुभेच्छुकहरुमा हाम्रो सादर आमन्त्रण ।'
कार्यक्रमको व्यवस्थापकीय कवि तथा कोशी सांसद मिना श्रेष्ठका अनुसार एपेक काव्य महोत्सवको यो दोस्रो संस्करण एउटै मन्चमा बसेर समग्र राष्ट्रको समकालिन काव्यिक ढुकढुकी आस्वादन गर्न सकिने अपूर्व अवसर हुने भन्दै आयोजकले काव्यानुरागी सबै सहृदयीहरुमा सहभागिताका लागि आग्रह समेत गरेको जानकारी दिनु भयो ।
यो संस्करणमा कोशी प्रदेशबाट अस्मिता विष्ट र धिरज राई, बागमती प्रदेशबाट गणेश श्रमण र एलिसा एकलास, मेधश प्रदेशबाट मनोज लोहार विश्वकर्मा र सपना कर्ण 'मनोरमा', गण्डकी प्रदेशबाट निकेश गिरी र रोशन तिमल्सिना, लुम्बिनी प्रदेशबाट रसिक राज र चन्द्र जि.एम., कर्णाली प्रदेशबाट कल्पना पलक र लक्ष्मण मानव तथा सुदूरपश्चिम प्रदेशबाट मोहित जोशी र खेम बताश सहभागी हुन् छन् । महोत्सवले नेपाली काव्यको विविधता र क्षेत्रीय स्वरलाई एउटै छातामुनि ल्याउने अपेक्षा गरिएको छ।


