इटहरी । झापामा हुन लागेको नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता (गोल्डकप) को तयारी तीव्र बनाइएको छ । पहिलो पटक हुन लागेको झापा महिला गोल्डकप आगामी कात्तिक १५ देखि २२ गतेसम्म शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा गर्ने तयारी भएको छ । झापा महिला गोल्डकप आयोजक मूल समिति अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको स्थायी प्याराफिटमा कुर्सी जडान लगायतका कार्यहरू भएका छन् । दुधे रङ्गशालालाई सम्याउने लगायत आकर्षक बनाउने कार्य अन्तिम चरणमा पुगेको उहाँले जनाउनुभयो । कम्तिमा १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्याराफिट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । भव्य रूपमा प्रतियोगिता सञ्चालनका लागि कुनै पनि कमी हुन नदिने उहाँको भनाइ छ । प्रतियोगितमा ८ वटा समूह सहभागि बन्ने निश्चित बनेको छ । प्रतियोगिताको सचिवालय प्रमुख हिमाल खरेलका अनुसार सर्वाधिक राशिको झापा महिला गोल्डकपको विजेता टोलीले नगद १० लाख रुपियाँ प्राप्त गर्ने छ भने उपविजेताले ५ लाख रुपियाँ पाउने छन् । प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख ५० हजार रुपियाँ पुरस्कार उपलब्ध गराउने निर्णय भएको उहाँले जनाउनु भयो । विभागिय महिला फुटबल समूह त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लब सहित ८ समूह प्रतियोगितामा सामेल हुने छ । खरेलका अनुसार सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब र भारतको सिक्किम स्थित सिग्लिङ स्पोर्टिङ क्लब सहभागी रहने छन् ।


