इटहरी । धनकुटाको सहिदभूमि गाउँपालिका र खेतान फाउण्डेसन बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आइतबार गाउँपालिकाको तर्फबाट अध्यक्ष मनोज राई र खेतान फाउण्डेसनको तर्फबाट अध्यक्ष निर्मलमान सिह गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा आधुनिक सुविधा सम्पन्न भवन सहित स्वास्थ्य र रोजगारका क्षेत्रमा काम गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो कामका लागि गाउँपालिकाको २० प्रतिशत र खेतान फाउण्डेशनको तर्फबाट ८० परुतिशत लागत साझेदारी रहने उल्लेख छ । यस्तै साही कार्यक्रममा खेतान फाउण्डेशन र ह्युम्यान प्राक्टीस फाउण्डेसन बीच कोशी प्रदेशका हिमाली ३ र पहाडी ८ जिल्लामा ३ अर्वको लगानीमा माध्यमिक विद्यालय भवन, आइसिटी तालिम लगायतमा खर्च गर्ने सम्झौता भएको छ । जसमा खेतान फाउण्डेसनको तर्फबाट अध्यक्ष निर्मलमान सिह र ह्युम्यान प्राक्टीस फाउण्डेसन म्यानेजिङ डाइरेक्टर पेर्निले क्रुसे मड्सेनले हस्ताक्षर गर्नुभएको हो । कोशी प्रदेशका ११ जिल्लामा हुने काम प्रदेश सरकार तथा खेतान फाउण्डेशन र ह्युम्यान प्राक्टीस फाउण्डेसन बीच लागत साझेदारी हुने कोशी प्रदेश सरकारको लागत सोझेदारी रहने बताइएको छ । दुवै सम्झौता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितीमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस सम्झौताले कोशी प्रदेशको विकासमा तथा रोजगारिको क्षेत्रमा फड्को मार्ने बताउनु भयो। आगामी पाँच वर्ष भित्र काम सम्पन्न हुने दुवै समझदारी पत्रमा उल्लेख छ । यसै बीच ह्युम्यान प्राक्टीस फाउन्डेसन डेनमार्क र खेतान फाउण्डेशनले धनकुटाको सहिदभुमी गाउँपालिकामा रहेको ठाकुर देवी माध्यमिक बिद्यालयलाई विद्यालय भवन निर्माण गरि हस्तान्तरण गरेका छन् । आइतबार फाउन्डेसनले एक कार्यक्रम आयोजना गरी भवन उद्घाटन गर्दै बिद्यालयलाई हस्तान्तरण गरेको छ । कोसी प्रदेशका मुख्य मन्त्री कार्की, ह्युम्यान प्राक्टीस फाउन्डेसन डेनमार्कको म्यानेजिङ डाइरेक्टर मेडसन र खेतान फाउन्डेसनका अध्यक्ष सिंहले संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो। करिब ९२ लाख रुपैयाँको लागतमा ८ कोठे दुई तले भवन निर्माणमा पालिकाको १६ लाख रुपैयाँ तथा अन्य खर्च हुम्यान प्राक्टीस फाउन्डेसन र खेतान फाउण्डेशनले गरेका हुन् । सुविधा सम्पन्न सो भवनमा साइन्स ल्याब आइसिटी ल्याब, लाइब्रेरी, बालबालिकालाई सहज हुने गरी कक्षा सञ्चालनको तयारी गरिएको छ ।


