इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा देश तथा देश बाहिर रहनुभएका समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सूर्य भगवानको आराधना, आत्माशुद्धि र समर्पणको प्रतीकका रूपमा मनाइने यो पर्व हाम्रो आस्था, संस्कार र सहअस्तित्वको सुन्दर उदाहरण भएको उल्लेख गर्नुभएको छ । छठ पर्वले प्रकृति, जल, माटो र सूर्यप्रति कृतज्ञता व्यक्त गर्दै मानिस, समाज र पर्यावरणबिचको सन्तुलन सन्देश दिने उहाँले उल्लेख गर्नुभएको छ ।
कोशी प्रदेश विभित्र जातजाति, भाषा, धर्म र संस्कृतिकको विविधताले समृद्ध प्रदेश भएको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । प्रदेश सरकार यही विविधतालाई आफ्नो पहिचानको आधार मानेर यसको संरक्षण र संवर्धनका लागि निरन्तर प्रयास गरिरहेको छ । समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न पनि हाम्रा विविधतायुक्त संस्कृति र परम्पराहरू महत्त्वपूर्ण कोसेढुङ्गा हुने मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा भत्रुभएको छ । उहाँले सूर्य भगवानप्रति समर्पित पवित्र छठ पर्वले सबैमा नयाँ ऊर्जा, उत्साह र उमङ्गका साथ स्वस्थ जीवन, सुख, शान्ति र प्रगतिको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास लिएको सन्देशमा उल्लेख गर्नुभएको छ ।


