इटहरी । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधानको रक्षा, परिवर्तनको रक्षा र जनताको अधिकारको रक्षाको लागि पार्टी एकताबद्ध भएर अघि बढ्ने बताउनुभएको छ । सोमबार तरुण दलको स्थापना दिवसको अवसरमा कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा खड्काले विगतमा भएका कमि कमजोरीहरुलाई स्वीकार गर्दै अव पार्टी एकताबद्ध भएर अघि बढ्ने बताउनुभएको हो । अहिले मुलुक अप्ठेरो अवस्थामा रहेकाले विगतको इतिहासको कालखण्ड जस्तै अहिले पनि देश र जनताले काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको उहाले बताउनुभयो ।

खड्काले पार्टीमा प्रस्तुत भएको विशेष महाधिवेशनको प्रस्तावलाई नियमित महाधिवेशनको सीमाभित्र जोडेर समाधान खोज्ने भन्दै केन्द्रीय समितिले यसबारे आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो । भदौ २३ र २४ गतेको घटनाले देशलाई प्रतिकूल अवस्थामा पु¥याएको भन्दै उहाले केन्द्रीय समितिले यसको समेत समिक्षा गर्दै पार्टीले आवश्यक कदम चाल्ने उल्लेख गर्नुभयो । उहाले मुलुकको रक्षा, लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि संगठित र एकताबद्ध भएर अघि बढ्न तरुण दललाई आग्रह गर्नुभयो ।