काठमाडौं । नेपाली कांग्रेससँग आबद्ध युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
सोमबार स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुलुकको वर्तमान व्यवस्था जोगाउन र संगठनको अस्तित्व रक्षा गर्न अब चुप लागेर बस्न नसक्ने बताए।
उनले हालका राजनीतिक गतिविधिहरूले तरुण दलको अस्तित्वमाथि नै चुनौती उत्पन्न गरेको आरोप लगाउँदै आफ्ना नेता तथा कार्यकर्तालाई सडक संघर्षका लागि तयारी अवस्थामा रहन निर्देशन दिए।
“हामी चुप लागेर बसेर मात्र मुलुकमा शान्ति हुँदैन। यदि यो मुलुकको व्यवस्था र हाम्रो अस्तित्व जोगाउने हो भने अब सडकमा भिड्नुपर्छ। अर्को विकल्प छैन,” — अध्यक्ष गुरुङले भने।
अध्यक्ष गुरुङले हालका केही व्यक्तिहरू—जस्तै दुर्गा प्रसाईं र सुदन गुरुङ—ले देशको व्यवस्था र लोकतान्त्रिक शक्तिमाथि आक्रमण गरिरहेको दाबी गरे। उनले भने “अब आउने दिनमा कुनै पनि आन्दोलनमा नेपाल तरुण दल सजग र तयारी अवस्थामा रहनेछ।”
त्यस्तै उनले नेपाली कांग्रेसका कार्यकर्तालाई सामाजिक सञ्जालमा ‘झोले’ भनेर चित्रण गर्ने प्रवृत्तिप्रति आक्रोश व्यक्त गरे।
“आज केही व्यक्तिहरूले हाम्रा कार्यकर्ता र परिवारलाई सामाजिक सञ्जालमा ट्रोल बनाउने काम गरिरहेका छन्। यस्तो प्रवृत्तिको विरोधमा हामी अब मौन रहने छैनौं,” — उनले चेतावनी दिए।


