दुहबी । नेपाल मुस्लिम ईतेहाद संगठनको तेस्रो दुहबी नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले इस्राफिल मियाँलाई नगर अध्यक्ष, जाहिद हुसैनलाई उपाध्यक्ष, अलाउदिन मियाँलाई सचिव, खैरुललाई उपसचिव, मोजाहिद मियाँलगायत २२ सदस्यीय नगर समिति चयन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) सुनसरी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य जगदीश प्रसाद कुसयैत रहेका थिए। विशिष्ट अतिथि रूपमा नेपाल मुस्लिम ईतेहाद संगठनका उपाध्यक्ष तथा नेकपा (एमाले) केन्द्रीय सदस्य तैयब हुसेन, नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा ईतेहाद संगठनका केन्द्रीय निर्वाचन अध्यक्ष आबिद हुसेन, नेकपा (एमाले) सुनसरी जिल्ला अध्यक्ष पर्शुराम यादव, नेकपा (एमाले) दुहबी नगर अध्यक्ष ताबिल हुसेन (मुस्तकिम), मुस्लिम ईतेहाद संगठन कोशी प्रदेश अध्यक्ष अजिम आलम, र संगठन सुनसरी जिल्ला अध्यक्ष तुफेल अहमद लगायतको उपस्थिति थियो।

1761661102795 1

कार्यक्रममा दुहबी वडा नं. १ का वडा अध्यक्ष तथा मुस्लिम अगुवा अजुल हुसेन, स्थानीय मुस्लिम समुदायका प्रतिनिधि, सामाजिक अगुवा, विभिन्न राजनीतिक दलका नेता तथा करिब ५ सयभन्दा बढी सहभागीहरू उपस्थित थिए।

अधिवेशनमा संगठनको विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो। सहभागीहरूले संगठनलाई अझ सशक्त, एकताबद्ध र जनमुखी बनाउने संकल्प व्यक्त गरेका थिए। साथै, देशको हालको राजनीतिक अवस्थामाथि पनि विस्तृत छलफल गरिएको थियो।

1761661098286 1

कार्यक्रमका क्रममा १०४ वर्षका हाजी इस्माईल र १०२ वर्षकी उनकी श्रीमतीलाई सम्मान गरिएको नेकपा (एमाले) दुहबी नगर अध्यक्ष ताबिल हुसेन (मुस्तकिम) ले बताउनुभयो।

यस अवसरमा मुस्लिम ईतेहाद संगठन सुनसरी जिल्ला अध्यक्ष तुफेल अहमदले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र सहअस्तित्वका क्षेत्रमा संगठनको निरन्तर सक्रिय भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धताव्यक्त गर्नुभयो।