इटहरी | त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको आयोजनामा तथा केन्द्रको केन्द्रीय समितिको अभिभावकत्वमा “नेपालभूमिमा वृन्दावन, वृन्दावनमा ज्येष्ठ नागरिक आश्रम” शीर्षकअन्तर्गत चतुर्मास जीवनदर्शन सत्सङ्ग कार्यक्रम हुन लागेको छ। सो कार्यक्रममा स्थानीय समुदाय तथा कोशी प्रदेश सरकारको समेत सहभागिता रहने केन्द्रले जनाएको छ।
कार्यक्रम इटहरी–२, सुनसरीस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेश कार्यालय तथा माया घर नेपालको छेउमा निर्माण गरिएको कलात्मक भक्तपुर शैलीको इँटाको आसन र नेपालकै ढुंगाबाट बनेको १०८ शिवलिङ्गको स्थापना एवम् प्राण प्रतिष्ठा समारोह सँगै सम्पन्न हुने भएको हो।
धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित असार शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन भइरहेको चतुर्मास धान्याञ्जलि महायज्ञ र पाठ पारायणको समापनका अवसरमा कार्तिक १४ गतेदेखि २१ गतेसम्म विविध धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरू गरिने जनाइएको छ।
कार्यक्रम विवरणः
कार्तिक १४ गते (शुक्रबार): कलश यात्रा एवम् उद्घाटन समारोह
कार्तिक १५ गते (शनिबार): श्रीमद्भागवत जीवनदर्शन कथा सत्सङ्ग प्रारम्भ
कार्तिक १७–१९ गते: १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा कार्यक्रम
कार्तिक २० गते (बिहीबार, साँझ ४ बजे): सवा एघार लाख दीप प्रज्वलन र महाआरती
कार्तिक २१ गते (शुक्रबार): पूर्णाहूति, तिलार्चन एवम् प्रसाद वितरण
त्यसपछि कार्तिक १५ गतेदेखि दैनिक
बिहान ६:०० देखि ९:०० बजेसम्म पूजापाठ तथा पारायण
बिहान ९:०० देखि दिउँसो ४:०० बजेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुरुहरूद्वारा विशेष प्रवचन, जीवनदर्शन ज्ञान, स्रष्टा सम्मान र विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई अवार्ड वितरण साँझ ७:०० देखि ९:०० बजेसम्म सन्ध्याकालीन आरती र जीवनदर्शन प्रवचन सञ्चालन हुनेछ।
कार्यक्रमको संयोजन बाबुराम सुवेदीले र सचिवको जिम्मेवारी प्रतिक्षा प्राप्ती अधिकारीले सम्हालिरहेका छन्। १०८ शिवलिङ्ग स्थापना तथा प्राण प्रतिष्ठा समितिको अध्यक्षमा सुभद्रा प्याकुरेल, र सुनसरी अध्यक्षमा सुशिला सिटौला रहेका छन्।


