इटहरी । खोटाङको सावाकटहरेका वडाध्यक्ष जेफर राईले उदाहरणीय काम गरेका छन्। कुर्सीमा बसेर निर्देशन दिने परम्परागत वडाध्यक्षभन्दा फरक, उनले यस सिजनमा ४० मन अलैंची बेचेर ३६ लाख ८० हजार रुपैयाँ आम्दानी गरेका छन्। वडाध्यक्ष राईले ३० वर्षअघि बुबाले सुरु गरेको अलैंची खेतीलाई ुजोनिया बहुउद्देश्य कृषि फर्मु मार्फत निरन्तरता दिँदै १२५ रोपनी जग्गामा यसको विस्तार गरेका छन्। गत वर्षभन्दा यस वर्ष अलैंचीको उत्पादन बढेको र प्रतिमन ९२ हजार रुपैयाँका दरले बिक्री भइरहेको उनले बताए। तराईबाट व्यवसायीहरू घरमै आएर अलैंची खरिद गर्ने गरेका छन्। यस पटक सावाकटहरेबाट ८ करोड रुपैयाँ बराबरको अलैंची बिक्री हुने अनुमान गरिएको छ। राईले निर्वाचित भएको साढे दुई वर्षपछिदेखि सरकारबाट पाउने सबै सेवा सुविधा सामाजिक काममा खर्च गर्दै आएका छन्। उनको यो कार्यले जनप्रतिनिधिहरूका लागि प्रेरणाको स्रोत बनेको छ ।