इटहरी । झापा मेचीनगरका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको करार सेवा रद्द गरेपछि कर्मचारी धर्ना सुरु गरेका छन् ।  नगरपालिकाले एकैसाथ १३८ जनाको करार सेवा रद्द गरेको थियो । संघीय सरकारको खर्च कटौतीको निर्णयअनुसार गत कात्तिक १ गतेदेखि एकसय ३८ कर्मचारीलाई एकैसाथ नगरपालिकाले निकालेपछि कर्मचारीमा आश्रित परिवारको बिचल्ली भएको बताइएको छ ।  बुधबार कार्यालय खुलेपछि करार सेवा रद्द गरिएका कर्मचारीले आएर नगरपालिकाको मुख्य गेटनजिक बसेर धर्ना सुरु गरेका हुन् । उनीहरुले करार सेवा रद्द नगर्न र पूर्ववत अवस्थामा काम गर्न पाउनु पर्ने एक सूत्रीय माग अघि सारेका छन् ।

उनीहरुको मागलाई कतिपय कार्यापालिका सदस्य, स्थानीय राजनीतिक दलहरुले समेत साथ दिएको पाइएको छ । संघीय सरकारको निर्देशन तथा परिपत्र र नगर कार्यापालिका बैठकले सर्वसम्मत निर्णय गरेर अति आवश्यकीय कर्मचारीहरु बाहेकलाई हटाउने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । कार्यपालिका सदस्य एवं मेचीनगर नगरपालिका वडा ४ का वडाध्यक्ष अर्जुन कार्कीले नगरपालिकाले स्वास्थ्य क्षेत्रको कर्मचारी यथास्थितिमा राखे पनि स्वास्थ्य क्षेत्रको परिचालिकालाई समेत निकालेको भन्दै आपत्ति जनाउनुभयो ।

अघिल्लो उपस्थितिलाई मान्यता राखेर नगरपालिकाले सर्वसम्मत यस्तो निर्णय  गरेको भनेर बाहिर ल्याइएको बताउँदै उहाँले आपत्ति जनाउनुभयो । गलत ढङ्गले अपारदर्शी र गलत निर्णयका कारणले गर्दा अहिले वडा कार्यालय नै सञ्चालन नहुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । लामो समयदेखि नगरपालिकाको सेवामा लाग्नुभएका कर्मचारीलाई नगरपालिकाले स–सम्मान बिदा गर्नुपर्ने ठाउँमा निष्कासन गर्नुपर्ने परिस्थिति सिर्जना गर्नु धेरै नै दुःखद भएको उहाँको दाबी छ ।