इटहरी । पथरी शनिश्चरेमा आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ हुने भएको छ । उक्त प्रतियोगिताको औपचारिक घोषणा हरियाली सामुदायिक वनको सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत गरिएको हो । पत्रकार सम्मेलनमा आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकले काठमाडौंका ए–डिभिजन लिगमा सहभागी तीन टिमहरू सहितका राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय क्लबहरू प्रतियोगितामा सहभागि बन्ने बताउनुभयो । उहाँका अनुसार उद्घाटन खेलमा सलहेश युवा क्लब र भारतको सिलीगुडी कञ्चनजङ्घा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो विजेता टोलीलाई ५ लाख रुपैयाँ नगद पुरस्कार र ट्रफी, र उपविजेतालाई २ लाख ५० हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ । साथै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दि म्याचको रूपमा सम्मान गरिने र विभिन्न विधागत पुरस्कारहरू समेत प्रदान गरिने जानकारी विकले दिनुभयो । त्यस्तै, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले यो प्रतियोगिता नगरको पहिचानसँग जोडिएको महत्वपूर्ण आयोजनाको निरन्तरता भएको बताउनुभयो । उहाँले नगरपालिकाले खेलकुदको विकास र युवा प्रतिभा प्रोत्साहनका लागि सधैं अग्रसर रहेको उल्लेख गर्दै गोल्डकपको सफल सञ्चालनका लागि सबै क्षेत्रका व्यक्तिहरूको सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभयो । आयोजकका अनुसार कार्तिक १६ गते दोस्रो दिनको खेलमा इन्ट्रा पथरी–११ फुटबल क्लब र ब्रिगेड बोईज क्लब (ललितपुर) बीच प्रतिस्पर्धा हुनेछ । तेस्रो दिन अर्थात् कार्तिक १७ गते संकटा फुटबल क्लब र पाँचथर फुटबल क्लब, चौथो दिन कार्तिक १८ गते एनआरटी फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धात्मक खेलहरू हुनेछन् । पत्रकार सम्मेलनमा पथरी शनिश्चरे नगरपालिकाको खेलकुद विकास समितिका संयोजक दिपक राई, अखिल नेपाल फुटबल संघ मोरङका प्रतिनिधि सन्जिव बुढाथोकी, पथरी–११ क्लबका टिम कोच अर्जुन बस्नेत लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए ।


