इटहरी । ग्रेटर मुन्दुम ट्रेल अन्तर्गतको लोअर मुन्दुम ट्रेलको स्थलगत अध्ययन तथा अन्वेषण कार्य सम्पन्न भएको छ । गएको असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रको नेतृत्वमा अध्ययन तथा अन्वेषणको काम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष रमेश राईको नेतृत्वमा कार्यसमिति सदस्य वीरबहादुर राई, साल्पा पोखरी विकास समितिका अध्यक्ष वीरकुमार राई, करिना राई र पवन राई सहितको टोलीले स्थलगत अध्ययन गरेको थियो । टोलीले ट्रेकिङ म्याप निर्माणका लागि जीपीएस प्रविधिबाट डाटा संकलन गरेको र पदमार्गमा पर्ने विभिन्न पर्यटकीय आकर्षणहरूको फोटो, भिडियो र सूचनात्मक विवरण संकलन गरेको जनाइएको छ । ग्रेटर मुन्दुम ट्रेललाई छेस्काम देखि एभरेष्ट बेस क्याम्प सम्म अपर मुन्दुम ट्रेल, तावा भञ्ज्याङ देखि साल्पा सिलिचुङ–बुङ सम्म मुन्दुम ट्रेल र चतरा देखि तावा भञ्ज्याङ सम्म लोअर मुन्दुम ट्रेल गरि तीन खण्डमा विभाजन गरिएको छ । यीमध्ये लोअर मुन्दुम ट्रेललाई अमूर्त सांस्कृतिक गन्तव्यका रूपमा हेरिएको छ । यस क्षेत्रका आदिम किराती सभ्यता, संस्कृति र इतिहास अझै जीवन्त रहेका छन् । यो पदमार्ग ७ देखि १० दिनको अवधिमा सहज रूपमा यात्रा गर्न सकिने बताइएको छ । यात्राका क्रममा बराहक्षेत्र, कोशी टापु बन्यजन्तु आरक्षण, प्राचीन किराती राजधानी बेलका तरिखा, हिन्दुहाङ राजाको दरबार, ठिङ्गुहाङमा, खुवालुङ, चौडण्डीगढी, नागछाँगा, पामाखाम गढी, टेम्के, तावा लगायतका ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक स्थलहरू अवलोकन गर्न सकिन्छ ।