इटहरी। पहिले घरधन्दा र परिवारमा सीमित भोजपुरका महिला अहिले आफ्नै सीपबाट आम्दानी गर्न थालेका छन् । गाउँपालिका र वडास्तरमा सञ्चालित सिलाइकटाइ, ढाका बुनाइ, बेमौसमी तरकारीखेती, मुढा बनाउने, अचार बनाउने, गड्यौलाको मल उत्पादनलगायत सीपमूलक तालिमले महिलालाई स्वरोजगार र उद्यमशील बन्ने अवसर प्रदान गरेको हो । महिलालाई आत्मभिर्नरसँगै व्यावसायिक बनाउनका लागि ‘महिला लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको का उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । ढाका बुनाइ, सिलाइकटाइ, अचार बनाउने, बेमौसमी तरकारीखेती, बाख्रापालन, बङ्गुरपालनलगायत सीप प्रदान गरेपछि यहाँका महिला उद्यममा जोडिएका उहाँले उल्लेख गर्नुभयो । सीप लिएर व्यवसायमा लाग्न चाहने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहनसहित सहयोग गरिरहेको उपाध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार गाउँघरमा पाइने कच्चा पदार्थको सदुपयोग गर्दै व्यावसायिकसँगै उद्यमशील बनाउन गत आर्थिक वर्षमा २७ जना महिलालाई अचार बनाउने सीप प्रदान गरिएको थियो । टेम्केमैयुङ गाउपालिका–४,नागीकी सम्झना राईले सोही तालिम लिएपछि आफ्नै गाउँमा अचार उत्पादन सुरु गरेको बताउनुभयो । सीपले जीवन निर्वाह गर्न सहजता प्रदान गरेको उहाँको भनाइ छ । यहाँका सीप लिन इच्छुक दलित समुदायका महिलाको पहिचान गरेर बाँसकोे मुढा बनाउने तालिम दिएपछि अहिले महिला स्वरोगार बन्दै गएका छन् । पौवादुङ्मा गाउँपालिकामा १९ वटा आमा समूहले गड्यौलाको मल उत्पादन गरी बिक्री वितरण गर्न थालेका छन् । पौवादुङ्मा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत महिला विकास बोर्ड गठन गरी उद्यमसँग जोड्न विभिन्न गतिविधि सञ्चालन गर्न थालिएको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिनुभयो । रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका महिलाहरू पनि सीपमूलक तालिमपछि उद्यममा जोडिएका छन् । स्थानीय चन्द्रकला राई अहिले सिलाइकटाइ व्यवसायमा सक्रिय हुनुहुन्छ । सिलाइकटाइ तालिमबाट स्वरोजगार बन्नुका साथै आत्मविश्वास बढेको चन्द्रकलाको भनाइ छ । स्थानीय तहको निरन्तर प्रयास र महिलाको सक्रिय सहभागिताले अहिले भोजपुरका गाउँघरमा आत्मनिर्भरता र उद्यमशीलताको नयाँ उदाहरण देखिन थालेको स्थानीयले बताएका छन् ।


