इटहरी | इटहरीमा अवस्थित किसान कल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३०औं स्थापना दिवस भव्य रुपमा मनाएको छ। कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक सदस्य छत्रप्रसाद रिमाल प्रमुख अतिथी रहनु भयो भने संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा समारोह सम्पन्न भयो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले सहकारीको इतिहास र प्रगतिबारे जानकारी दिँदै वि.सं. २०५३ सालमा ३४ जना सदस्य र रु. १,७०० पूँजीबाट किसान कल्याण कोषको रूपमा स्थापना भएको र वि.सं. २०५८ सालमा सहकारी डिभिजन कार्यालय, इनरुवामा बचत तथा ऋण सहकारीको रूपमा दर्ता गरिएको बताए।

हाल सहकारीमा २५ हजार ५ सय सदस्य र कुल सम्पत्ति रु. १ अर्ब ५३ करोड पुगेको उनले जानकारी गराए। बस्नेतले प्रविधिमैत्री सेवाको विकास गर्दै सदस्यहरूलाई मोबाइल बैंकिङ, इ-टेलर, एटीएस सेवा र क्यूआर पेमेंट प्रणालीमार्फत सहज सेवा दिइरहेको उल्लेख गरे।

कार्यक्रमका क्रममा कर्मचारीहरूले खेलेको देउसी भैलोबाट संकलित रु. ११ हजार १५५ रकम निःसहाय बालबालिका आश्रमकी संचालिका गीता गौतमलाई हस्तान्तरण गरिएको थियो।

सोही अवसरमा पत्रकार विकल पौडेल, हिरण्य कार्की र दिलबहादुर श्रेष्ठलाई पत्रकारिता पुरस्कारसहित सम्मान गरिएको थियो। त्यस्तै, उत्कृष्ट सेवा केन्द्रको रूपमा पूर्वी गैसार शाखा, उत्कृष्ट कर्मचारीमा नवराज पोख्रेल र सबिना पोख्रेल, तथा संस्थापक अध्यक्ष सम्मानमा भवनाथ लुइटेललाई नगदसहित सम्मान गरियो।

सहकारीले यस वर्ष विभिन्न विधामा १६ जना उत्कृष्ट नियमित बचतकर्ता, १३ जना उत्कृष्ट बाल बचतकर्ता, र ४ जना चुडाराज खतिवडा स्मृति पुरस्कार विजेता सहित १०६ जना सदस्यलाई सम्मान गरेको थियो।

अध्यक्ष ढकालले आफ्नो मन्तव्यमा संस्थाका सञ्चालकहरू स्थानीय भएकाले ‘अपचलन हुन्छ’ भन्ने भ्रममा नरहन आग्रह गर्दै, “हामी समुदायमा आधारित सहकारी हौं, दुरुपयोग हुँदैन। सुधार गर्नुपर्ने ठाउँमा सुझाव स्वागत गर्छौं,” भने।

प्रमुख अतिथि रिमालले देशभर ३३ हजारभन्दा बढी सहकारी संस्था रहेका मध्ये करिब ढाइ सय सहकारीले मात्र बदनाम पारेको उल्लेख गर्दै, सहकारी क्षेत्रले ७० लाखभन्दा बढी सदस्य र एक लाखभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेको बताए।

कार्यक्रममा संस्थापक सल्लाहकार कृष्ण विनोद लम्साल, इटहरी उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष तेजनारायण चौधरी, जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहाल लगायतको आतिथ्य रहेको थियो।