काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी निर्माणमा योगदान दिएका सबै नेताहरूलाई पुनः एमालेको आन्दोलनमा समाहित हुन आह्वान गर्नुभएको छ । उहाँले पार्टी अध्यक्ष केपी ‌ओलीद्वारा गरिएको एकताको आह्वानलाई ‘स्वागतयोग्य र समय सान्दर्भिक’ बताउँदै वाम आन्दोलनको सशक्त एकतालाई आजको राष्ट्रिय आवश्यकता र ऐतिहासिक जिम्मेवारीका रूपमा चित्रण गर्नुभएको छ ।
सचिव भट्टराईका अनुसार जनताको बहुदलीय जनवाद (जबज) को मार्ग निर्देशनमा आधारित नेकपा एमालेले सिङ्गो वाम आन्दोलनलाई एकताबद्ध बनाउन निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धात्मक माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा विश्वास गर्नेहरूका लागि एमाले नै साझा केन्द्र हुनुपर्छ, निषेध, प्रतिशोध र घृणाको मानसिकता त्यागेर सहकार्य र सहअस्तित्वको बाटोमा अघि बढ्दा मात्रै पार्टी सुदृढ र एकताबद्ध बन्न सक्छ ।’

भट्टराईले एमालेभित्रको एकताको मूल आधारका रूपमा जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्नुपर्ने र त्यसको निरन्तर अभ्यासबाट पार्टीलाई भविष्यतर्फ अघि बढाउनुपर्ने बताउनुभएको छ। उहाँका अनुसार पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र आदर्शलाई सम्मानपूर्वक स्वीकार गर्दै त्यसलाई निरन्तरता दिनु एमालेको ऐतिहासिक दायित्व हो ।

२०८२ भदौ २३ र २४ पछि उत्पन्न राजनीतिक परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गरी पार्टीको बहुआयामिक पुनर्गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले एमालेलाई आगामी प्रतिस्पर्धामा विजयी बनाउने तयारीका लागि सबै कमरेडहरूको संयुक्त प्रयत्न अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

सचिव भट्टराईले एमालेको नेतृत्वमा आर्थिक र सामाजिक रूपान्तरणका माध्यमबाट सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्नु नै पार्टीको प्रमुख उद्देश्य भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘अब समय निषेध होइन, सहकार्यको हो, प्रतिशोध होइन, सहअस्तित्वको हो, सबै कमरेडहरूले यही मान्यतामा हातेमालो गर्न सके जनताको विश्वास पुनः जित्दै आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउन सकिन्छ ।’

उहाँले सबै वामपन्थी, लोकतान्त्रिक र राष्ट्रप्रेमी कार्यकर्ताहरूलाई एकताबद्ध भएर पार्टी सुदृढीकरण र राष्ट्रिय पुनर्जागरणको अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ । सचिव भट्टराईको भनाइमा नेकपा एमालेले आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गर्न विचारको स्पष्टता, संगठनात्मक एकता र आन्तरिक अनुशासनलाई आधार बनाउनुपर्ने समय आएको छ ।

‘आउनुहोस्, यिनै मान्यतामा हातेमालो गरौँ’, भट्टराईले भन्नुभएको छ ।

स्वागतयोग्य आह्वान
नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नु भएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ ।
जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाइमा सिङ्गो वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार हो ।
जबजको सिद्धान्त “शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा” विश्वास गर्नेहरूको एउटा केन्द्र बन्नै पर्छ त्यो एमाले हो । निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्व मार्फत नेकपा एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ ।

एकताको आधार
-जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने ।
-पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने ।
-२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र बस्तुनिष्ठ समीक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने ।

-नेकपा एमालेको नेतृत्वमा आर्थिक/ सामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने ।

कमरेडहरू, आउनुहोस् यिनै मान्यतामा हातेमालो गरौँ ।