इटहरी | नेपाल विद्यार्थी संघ सुनसरी जिल्ला कार्यसमितिका उपसभापति सेराज हुसेनमाथि भएको आक्रमणप्रति नेपाल तरुण दल जिल्ला कार्यसमिति सुनसरीले कडा आपत्ति जनाएको छ।
तरुण दलका अनुसार कात्तिक १३ गते भोक्राहा नरसिंह गाउँपालिकामा भएको उक्त आक्रमण गम्भीर र अमानवीय कार्य हो। दलले यस घटनामा संलग्न सबै व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त घटनाको दोषीलाई उम्किन नदिई प्रचलित कानुन बमोजिम कारबाही गर्नुपर्ने हाम्रो जोडदार माग छ।”
तरुण दलले घटनाको छानबिन निष्पक्ष र पारदर्शी रूपमा गर्न सरकार तथा प्रशासनलाई ध्यानाकर्षण गराएको छ।


