सुनसरी । ‘मानव अस्तित्व, स्वास्थ्य र विकासका लागि वातावरण, जैव मण्डल र जैव विविधताको संरक्षण’ भन्ने नारासहित सन् २०२५ अक्टोबर १९ को बायोइथिक्स दिवस नेपालभरका मेडिकल कलेजहरूले विभिन्न चेतनामूलक र प्रतियोगितात्मक कार्यक्रमसहित मनाएका छन्। नेपाल एकाईका तर्फबाट आयोजित कार्यक्रमहरूको समापन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको छ। नेपाल एकाईका प्रमुख तथा नेपालका लागि संयोजक प्रा।डा। धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी संकायका अनिशा गिरी र क्रिष्टिना राईले सञ्चालन गरेका थिए। प्रमुख वक्ताका रूपमा प्रा।डा। शाक्यले बायोइथिक्सको १७ औं सिद्धान्त यस वर्षको विषयसँग प्रत्यक्ष सम्बन्धित रहेको बताए। कार्यक्रममा नेपाल एकाईका सदस्य प्रा।डा। सरुन कोइराला, डा। अशोक ऐर र खेमचन्द सुवेदी ले क्रमशः चिकित्सा शिक्षा, दन्त चिकित्सा र नागरिक–कानुनी पक्षबारे विचार प्रस्तुत गरे। विद्यार्थी समिप रेग्मीले यस वर्षको नारामा आधारित सेमिनार प्रस्तुति दिएका थिए। विभिन्न प्रतियोगितामा विजेताहरू घोषित गरिएका छन्। फोटोग्राफीमा सुरजा शाक्य, आर्ट पोस्टरमा उज्ज्वल ठाकुर र सुरजा शाक्य, वैज्ञानिक पोस्टरमा प्रशान्त सापकोटा तथा कविता प्रतियोगितामा जीवन भुजेल पुरस्कृत भए। निर्णायक मण्डलमा प्रा।डा। रविराम श्रेष्ठ, प्रा।डा। सरुन कोइराला, डा। अशोक ऐर, डा। किशोर गुरुंग र प्रा।डा। धनरत्न शाक्य थिए। समापनमा प्रा।डा। शाक्यले बायोइथिक्स सम्बन्धी अध्ययन, छलफल र अनुसन्धानलाई निरन्तर र व्यापक बनाउँदै लैजानुपर्ने बताए।  सन् २०१३ देखि नेपाल बायोइथिक्सको विश्व सञ्जालमा आवद्ध छ भने सन् २०१६ देखि प्रत्येक वर्ष अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाइँदै आएको छ।