भोजपुर | भोजपुरको षडानन्द नगरपालिका–४ दुबेस्थित चाम्लादाङबाट दिङला तर्फ आउँदै गरेको लकडी लोड गरिएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

शनिबार बिहान करिब ११ बजे प्रदेश १–०२–००३ त १२१३ नम्बरको उक्त ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

दुर्घटनामा परेकामध्ये चालकसहित चार जनालाई तत्काल उद्धार गरी दिङला नगर अस्पताल पठाइएको र दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकहरूमा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षीय आईत बहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बीका १७ वर्षीय नविन तामाङ रहेका छन्। प्रहरीका अनुसार उनीहरू दुवैलाई ट्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको हो।

त्यसैगरी घाइते हुनेहरूमा १९ वर्षीय दाछिरि शेर्पा, दाहिने खुट्टाको तिघ्रा फ्याक्चर र अनुहार तथा हातमा चोट, २२/२३ वर्षीय अम्बर तामाङ, टाउकोमा चोट, १८ वर्षीय सागर तामाङ, बायाँ खुट्टामा चोट, र १८ वर्षीया सुनिता तामाङ, दुबै खुट्टा र बायाँ हातमा चोट रहेका छन्।

घाइते सबैको उपचार दिङला नगर अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।