धरान | धरानस्थित बगैँचा क्याफेमा शनिबार “द जेन् जी मोमेन्ट: द इकोनोमिक्स अफ पोलिटिक्स बुझ्दै” शीर्षकमा विशेष छलफल कार्यक्रम सम्पन्न भयो।
दिउँसो १२ बजेदेखि साँझ ५:३० बजेसम्म चलेको कार्यक्रममा विद्यार्थी, युवाहरू र स्वतन्त्र सोच भएका सहभागीहरूले स्वतन्त्रता, शासन र अर्थतन्त्रबारे विचार आदान–प्रदान गरे। कार्यक्रम स्टुडेन्ट्स फर लिबर्टीको “द इकोनोमिक्स अफ पोलिटिक्स रिडर” पुस्तकबाट प्रेरित थियो।
वक्ताहरूले “जेन् जी मोमेन्ट” लाई सोच्ने र बुझ्ने क्षणका रूपमा व्याख्या गर्दै मानिसले भावनाभन्दा तर्कका आधारमा निर्णय गर्न सक्ने अवस्थालाई यसको सार बताए। उनीहरूले राजनीतिक र आर्थिक निर्णयमा विवेकपूर्ण सोच र तथ्यआधारित दृष्टिकोण अपरिहार्य रहेको उल्लेख गरे।
सहभागीहरूले नेपालका सन्दर्भमा अनावश्यक सरकारी नियन्त्रण, नियमको जटिलता र राजनीतिक पक्षपातले उद्यमशीलता र स्वतन्त्रतालाई कमजोर बनाइरहेको धारणा राखे। धेरैले स्वतन्त्र बजार, प्रतिस्पर्धा र जिम्मेवार नागरिकताले देशको आर्थिक विकासमा योगदान पुर्याउन सक्ने विचार प्रस्तुत गरे।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले आत्मचिन्तन, तर्क र स्वतन्त्रताको संयोजनले राम्रो समाज निर्माण गर्न सकिने निष्कर्ष निकाले। आयोजकहरूले यस्ता शैक्षिक र संवादमुखी कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।


