इटहरी । चार दिनदेखि लगातार परिरहेको अविरल वर्षाले तेह्रथुम जिल्लाका किसानहरूलाई ठुलो मार परेको छ । निरन्तरको वर्षातका कारण खेतमा लगाइएका धान, कोदो, मकै, तरकारीदेखि फलफूलसम्मका अधिकांश बालीहरू ढलेर नष्ट भएका छन् । खेतबारी जलमग्न बनेका छन् र केही स्थानमा पहिरो र बाढीले समेत खेतीयोग्य जमिन बगाएको स्थानीयहरूले बताएका छन् । तेह्रथुमका किसानहरूले वर्षभरिको परिश्रम र आशामा लगाएको बाली अहिले वर्षाको कारण तहसनहस भएको छ । जिल्लाका अधिकांश गाउँहरू—म्याङलुङ, फेदाप, लालीगुराँस, छथर, मेन्छ्यायेम, आठराईलगायतका क्षेत्रमा निरन्तरको वर्षाका कारण किसानहरूको अनुहारमा निराशा र चिन्ता झल्किएको छ । गत असारमा रोपाइँका बेला खडेरीले धान लगाउन ढिलो भएको र अहिले बाली उठाउने बेला अविरल वर्षाले धान, मकै, कोदो लगायतका अन्नबाली पूर्णरूपमा नोक्सान पुर्‍याएको किसानहरूको भनाइ छ । यस्तै, तेह्रथुमकै अर्का कृषक  उहाँले सरकार र स्थानीय तहले तत्काल क्षतिपूर्ति र राहतको व्यवस्था गर्न आग्रह गर्नुभयो । वर्षाका कारण किसानहरूको मात्र नभई जिल्लाको समग्र स्थानीय अर्थतन्त्रमा समेत गम्भीर असर पर्ने देखिएको छ । धान र कोदो उत्पादन घटेपछि बजारमा अन्न अभाव र मूल्यवृद्धि हुने चिन्ता व्यापारी र उपभोक्तामाझ देखिएको छ । किसानहरूले उत्पादन गर्न नसकेपछि गाउँका पसलहरूमा दैनिक उपभोगका सामानको कारोबार घट्ने अपेक्षा गरिएको छ । यसले स्थानीय बजार, उपभोग र नगदे प्रवाहमा समेत नकारात्मक असर पार्ने कृषि विज्ञहरूको भनाइ छ ।कृषि ज्ञान केन्द्र तेह्रथुमका अनुसार, जिल्लामा करिब सात हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यस वर्षको असामयिक वर्षा र निरन्तरको झरीले म्याङलुङ, लालीगुराँस, छथर, मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिकाका सयौं किसान प्रभावित भएका छन् । केही स्थानमा बाली मात्र होइन, गोठ, पशुधन र सडक संरचनासमेत क्षतिग्रस्त भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । कृषि प्राविधिकहरूका अनुसार जलवायु परिवर्तनका कारण वर्षा र तापक्रमको ढाँचा असामान्य बन्दै गइरहेको छ, जसले कृषि उत्पादनमा ठुलो असर पारिरहेको छ । उनीहरूको भनाइमा, अब परम्परागत खेती प्रणालीले काम नगर्ने हुँदा जलवायु–अनुकूल कृषि प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ । बाली बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र किसानलाई प्राविधिक सहयोग पुर्‍याउनेतर्फ सरकारले ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ । उहाँले कृषि क्षेत्रमा दीर्घकालीन सुरक्षा नीति बनाउन पनि प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्नुभयो । यसरी वर्षेनी दोहोरिने प्राकृतिक विपत्तिले किसानहरू थप असुरक्षित र निराश बन्दै गएका छन् । जलवायु परिवर्तन, अनियमित वर्षा, कीराको प्रकोप र बाली नष्ट हुने समस्या बारम्बार दोहोरिँदा तेह्रथुमका कृषकहरूको जीविकोपार्जन सङ्कटमा परेको छ । कृषकहरूले सरकारले अब राहतभन्दा पनि दीर्घकालीन कृषि सुरक्षा नीति, सिँचाइ सञ्जाल र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने माग गरेका छन् ।