इटहरी । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नी स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित नगरप्रमुख भट्टराई तथा परिवारका सदस्यले आफ्नो गाउँ दोर्पाचिउरीडाँडामा सञ्चालित विद्योदय माध्यमिक विद्यालयमा ‘गुण–लक्ष्मी–पदमकुमारी अक्षयकोष–२०८२’ स्थापना गरेका हुन् । नगरप्रमुख भट्टराईसहित सात सन्तानकी स्व। आमा पदमकुमारीका नाममा स्थापना गरिएको अक्षयकोषमा पहिलो चरणमा दुई लाख दुई हजार २२२ रकम जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राईले जानकारी दिनुभयो ।
नगरप्रमुख भट्टराईका स्व। आमा पदमकुमारीको गत वर्ष (विसं २०८१ कात्तिक १६ गते) ८८ वर्षको उमेरमा निधन भएको थियो । आफ्नो गाउँको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई केही सहयोग पुर्याउने उद्देश्यसहित परिवारका तर्फबाट अक्षयकोष स्थापना गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो । नगरप्रमुख भट्टराई तथा परिवारका सदस्यद्वारा स्थापना गरिएको अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम विद्यालय प्रशासनसँगको सहकार्य र अक्षयकोष सञ्चालन समितिको निर्णयअनुसार वार्षिक रूपमा विद्यार्थीलाई पुरस्कार वितरण, शैक्षिक गतिविधि तथा आवश्यक सहयोगमा खर्च गरिने विद्यालयले जनाएको छ ।


