इटहरी । आगामी फागुन २१ लाई निर्वाचनको मिति घोषणा भएसँगै इलाममा नयाँ मतादाताका सङ्ख्या धमाधम थपिँदै गएका छन् । फागुन २० गतेसम्म १८ वर्ष उमेर पुरा गरेका मतदाताले मतदान गर्न पाउने भएकाले पनि अहिले नयाँ मतदाताका रुपमा फोटो खिचाउने क्रम चलिरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार गएको असोज ८ गतेसम्म १८ वर्ष पुरा भएका मतदाताको सङ्ख्या इलाममा दुुईलाख २७ हजार तीन रहेको छ । यी मध्ये पुरुष मतदाताको सङ्ख्या एक लाख १७ हजार ४३ र एक लाख ९ हजार ९५८ रहेको छ ।
असोज ९ गते पछाडि पनि नयाँ मतदाताको रुपमा फोटो खिचाउने क्रम चलिरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले बातउनुभयो। नयाँ मतदाताका रुपमा अहिले सम्ममा २९७ जनाले फोटो खिचाएका छन् । यी मध्ये नेपालको नागरिकता बनाएर फोटो खिचाउन आएका कोही १६ वर्ष उमेर पुुगेका मात्र पनि रहेका छन् भने कोही १८ वर्ष पुरा भएका छन् । लिम्बूका अनुसार अहिले जिल्ला अन्तर,पालिका अन्तर पनि मतदाता नामावलीको नाम सारीको काम पनि भइरहेको छ । अहिलेसम्म ११९ जना मतदाताको नाम सारीको काम भएको लिम्बूले जानकारी दिनुु भयो । यस्तै ६६ जना मृत्यु भएका मतदाताको नाम भने मतदाता नामावलीबाट हटाइएको छ ।


