इटहरी | कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा इटहरीमा आयोजित निःशुल्क कृतिम हात नाप–जाँच, जडान तथा वितरण कार्यक्रमको विधिवत उद्घाटन गरिएको छ।
कार्यक्रमको आयोजना करुणा फाउण्डेसन नेपाल र द ह्यान्ड प्रोजेक्ट (The Hand Project)को संयुक्त सहकार्यमा गरिएको हो। उद्घाटन सत्रमा मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले समान अवसर र पहुँचको अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस्तो मानवतावादी कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। “अपाङ्गता भएका व्यक्तिहरूले सहायक सामग्री प्राप्त गर्नु अधिकार हो, उपहार होइन,” मन्त्री भण्डारीले भन्नुभयो, “यस किसिमका कार्यक्रमहरूले उनीहरूलाई आत्मनिर्भर, सम्मानित र उत्पादक जीवनतर्फ फर्काउने काम गर्छन्। कोशी प्रदेश सरकार पुनःस्थापनाका विषयमा निरन्तर प्रतिबद्ध छ।”
उक्त शिविर कात्तिक १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा दैनिक २० देखि २५ जना लाभग्राहीलाई निःशुल्क रूपमा कृतिम हात जडान गरिनेछ।
शिविरमा जर्मनी, न्युजिल्याण्ड र युगान्डाबाट आएका विज्ञ प्राविधिक टोलीहरूले लाभग्राहीहरूको नाप–जाँच, कृतिम हातको जडान र प्रयोग सम्बन्धी तालिम दिने कार्य गर्दैछन्।
करुणा फाउण्डेसन नेपालका निर्देशक योगेन्द्र गिरीका अनुसार “यस कार्यक्रमको उद्देश्य केवल कृतिम हात वितरण गर्नु मात्र होइन, अपाङ्गता भएका व्यक्तिहरूलाई पुनः आत्मनिर्भर, सम्मानजनक र उत्पादक जीवनतर्फ फर्काउने हो। कृतिम हातले उनीहरूलाई पुनः आफ्ना दैनिकी कार्यहरू सहज रूपमा गर्न सक्षम बनाउँछ।”
गिरीका अनुसार, यो कार्यक्रमबाट कोशी प्रदेशका १३ जिल्लाका २०४ जना अपाङ्गता भएका व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
उद्घाटन सत्रमै पहिलो समूहका केही लाभग्राहीहरूलाई कृतिम हात जडान गरिएको थियो।
कृतिम हात पाउँदा लाभग्राही सबिता सुवेदी अत्यन्तै भावुक हुँदै भनिन् —यो हातले मलाई फेरि आत्मविश्वास दिएको छ। अब म स-साना कामहरू आफ्नै हातले गर्न सक्छु भन्ने लागिरहेको छ। यस्तो अवसरका लागि म आयोजकहरूप्रति आभारी छु।”
यस किसिमको अनुभवले कार्यक्रममा सहभागी अन्य लाभग्राहीहरूमा पनि खुशी र उत्साह जगाएको छ।


