इटहरी । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब चार करोड खर्चिएपछि अलपत्र बनेको छ । विसं २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो । पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् ।भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको छ । छवटा पिलरको आधार ९बेस० राखेपछि यहाँको पुल निर्माण अलपत्र रहेको हो ।
यहाँ एक सय ७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी भक्तराज विश्वकर्माले बताउनुभयो । पक्की पुल नहुँदै आवतजावतमा समस्या रहेको उहाँको भनाइ छ । २०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो।पुल निर्माणको काम किन ढिलाइ भएको भन्ने विषयमा स्थानीय अन्योलमा परेका छन् ।


