इटहरी । शिक्षाको काम सिकारु वा बालबालिकामा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउनु हो । प्रतिभाको पहिचान गरि प्रस्फुटन गराउने काम शिक्षकको हो । यसै क्रममा इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीका निम्ति यस वर्षदेखि अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘प्रतिभा प्रोत्साहन र अवसरका लागि राष्ट्रिय मावि आइडल’ प्रतियोगिता चलिरहेको छ । गायन, नृत्य, साहित्य लगायतका विधामा उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने दृढताका साथ चलिरहेको आइडल प्रतिस्पर्धाको मंगलबार भएको क्वाटरफाइनलको सेलेक्सन चरणमा २७ जना विद्यार्थी छनोट भएका छन् । गायनमा १७ जना मध्ये ११ जना छानिएका छन् । यस्तै, नृत्यमा १४ जनाबीच भएको प्रतिस्पर्धामा ६ जना छानिएर सेमिफाइनलमा पुगेका छन् । साहित्य तर्फ १५ जनामा १० जना छानिएको दिवा सत्रको अतिरिक्त क्रियाकलापका संयोजक शिक्षक युवराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार सेमिफाइनल चरणको प्रतिस्पर्धा कार्तिक २८ गते र फाइनल प्रतिस्पर्धा मंसिर १२ गते विद्यालयको वार्षिकोत्सवको पूर्वसन्ध्यामा गरिनेछ । विद्यालयको वार्र्षिकोत्सव हरेक वर्षको मंसिर १३ गते मनाइने गरिन्छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष कोविदजंग कार्कीको प्रमुख आथित्यतामा भएको क्वाटरफाइनलको आइडल छनोट विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको सभापतित्वमा भएको थियो । सो क्रममा अध्यक्ष कार्कीले विद्यालयको वार्षिक नीति तथा कार्यक्रममा प्रतिभा पहिचान कार्यक्रम गर्ने योजना अनुसार नै कार्य भएकाले गर्दा विद्यार्थीलाई थप आत्माविश्वासी र सिर्जनात्मक बनाएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक बस्नेतले इटहरी क्षेत्रका सामूदायिक विद्यालयमध्ये पहिलो पटक यस्तो आइडल प्रतिस्पर्धा गरिएको बताउनुभयो । कार्यक्रमको क्वाटरफाइनलको सेलेक्सन प्रतियोगतामा विद्यालयका सूचना अधिकारी सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले स्वागत मन्त्ब्य राख्नुभएको थियो ।


