फिदिम / फिदिम नगरपालिकाको संयोजन र घुन्सा फाउन्डेसनको सहयोगमा एसईई (SEE) तयारीका लागि अनलाइन शिक्षा कार्यक्रम सुरु गरिएको छ।
यस कार्यक्रमको उद्देश्य ग्रामीण क्षेत्रका विद्यार्थीलाई शहरी स्तरको शिक्षा अवसर प्रदान गर्दै उनीहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्नु रहेको छ। नगरभित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरूले निःशुल्क अनलाइन कक्षा, इन्टरनेटमा आधारित अध्ययन सामग्री र प्रत्यक्ष सिकाइका माध्यमबाट एसईई परीक्षाको तयारी गर्न सक्ने व्यवस्था गरिएको छ।
कार्यक्रमको शुभारम्भ गर्दै फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले भन्नुभयो “शिक्षा सबैका लागि पहुँचयोग्य हुनुपर्छ। प्राविधिक युगमा पछाडि परेका विद्यार्थीलाई डिजिटल माध्यमबाट सशक्त बनाउने यो कार्यक्रम फिदिम नगरको शिक्षामा नयाँ मोड हो। हाम्रो लक्ष्य कुनै पनि विद्यार्थी शिक्षा अभावमा पछाडि नपरोस् भन्ने हो।”
कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने श्री योङजम शेर्पाप्रति नगरपालिकाले हार्दिक धन्यवाद व्यक्त गरेको छ। फाउन्डेसनको सहयोग र नगरको पहलमा सुरु भएको यस प्रयासले ग्रामीण युवालाई उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।


